पाकिस्तानी न्यायाधीश स्वदेश प्रस्थान, राष्ट्रिय सभा अध्यक्ष क्वालालम्पुर हुँदै कम्बोडिया

पाकिस्तानी न्यायाधीश स्वदेश प्रस्थान, राष्ट्रिय सभा अध्यक्ष क्वालालम्पुर हुँदै कम्बोडिया

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गए राति मलेसिया जानुभएको छ । उहाँ मध्यरात १२ बजे मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा काठमाडौंबाट क्वालालम्पुर प्रस्थान गर्नुभएको बताइएको छ । 

उहाँ कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिन त्यसतर्फ जानुभएको हो । अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेसनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्ने जानकारी दिइएको छ ।

अध्यक्ष तिमिल्सिनासँगै बाग्मती प्रदेशसभा सदस्य अमन मास्के संसद् सचिवालयका उपसचिव नुमराज खनाल पनि छन् । यसअघि उहाँ बैशाख पहिलो साता संसदीय टोलीको नेतृत्व गर्दै रुस भ्रमणमा जानुभएको थियो । 

हिजै राति पाकिस्तानको सर्वोच्च अदालतका न्यायाधीश पनि स्वदेश फर्कनुभएको छ । राति साढे ११ बजे एअर अरेबियाको जी ९५३१ नम्बरको उडानमा पाकिस्तानी उच्चस्तरीय टोली फर्केको बताइएको छ ।

काठमाडौंमा बिहीबारदेखि शनिबारसम्म भएको वन, संरक्षित क्षेत्र र कानुन सम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिन आउनुभएका न्यायाधीश याहा अफ्रिदी नेतृत्वको टोली हिजो युएईको शारजाँह हुँदै स्वदेश गएको हो । उहाँसँगै श्रीमती आएशा अफ्रिदी पनि हुनुहुन्छ ।
 

टिप्पणीहरू