मार्सीसँग पैसा मागेर ‘कोर टिम’ लाई बुझाउन खोजेका ढाकाकुमार पदमुक्त
पार्टी सभापतिको ’कोर टिम’ लाई बुझाउन मेडिकल माफिया दुर्गा प्रसाईं ‘मार्सी’ सँग रकम मोलमोलाई गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको जानकारी गराएसँगै उनको सांसद पद गएको हो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा बुझाएको थियो । सोही आधारमा उनको सांसद पद रिक्त भएको सभामुख घिमिरेले सदनमा बताउनुभयो ।
आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न ’कोर टिमलाई’ हाताहाती दुई करोड बुझाउनुपर्ने भएकाले उक्त रकमको जोहो गरिदिन आग्रह गर्दै मार्सीसँग उनले गरेको टेलिफोन संवाद सार्वजनिक भएपछि श्रेष्ठको पार्टीले साधारण सदस्यसमेत नरहने भन्दै कारबाही गरेको थियो ।
समानुपातिकबाट छानिएका श्रेष्ठलाई हटाएर उनको स्थानमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।
टिप्पणीहरू