खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगको एक हप्ते पूर्जी

खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगको एक हप्ते पूर्जी

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (४) बमोजिम आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न भनेको हो । आफू उम्मेदवार भएको जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा प्रष्टीकरण बुझाउन भनिएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र तोकिएको कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै आयोगले अहिलेसम्म नबुझाउनुको चित्तबुझ्दो कारण दिन भनेको छ ।  

अधिकांश उम्मेदवारले तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएको भन्दै आयोगले खर्च विवरण नबुझाउनुको चित्त बुझ्दो कारण दिन नसके कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ । 

आयोगले संघ तथा प्रदेश गरी ७३ जना उम्मेदवारले खर्च विवरण नबुझाएको उल्लेख गरेको छ ।

टिप्पणीहरू