तीन दलीय बैठक : प्रधानन्यायाधीशमा सहमति, टीआरसीमा एमालेको अडान

तीन दलीय बैठक : प्रधानन्यायाधीशमा सहमति, टीआरसीमा एमालेको अडान

नेकपा एमालेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी संसदमा पेश भएको टीआरसी विधेयक टुंग्याउन पुरानै शर्त दोहोर्याएको छ । 

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले पीडितले न्याय पाउने सुनिश्चिततासँगै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुन बनाएर शान्ति प्रक्रिया टुंग्यानुपर्ने अडान राखेको हो ।सत्ता पक्षले फास्टट्रयाकबाट पारित गर्ने तयारीका साथ विधेयक संसदमा लागेको अवस्थामा एमालेले भने संसदीय समितिमा व्यापक छलफल गर्नुपर्ने बताउँदै आएको छ ।

आजको बैठकमा पनि एमालेले सोही अडान राखेको बताइएको छ । एमाले सचेतक महेश बर्तौलाले टीआरसीसहितका विषयमा तत्काल सहमति निर्माणको पहल लिन सत्ता पक्षलाई भनिएको जानकारी दिए । अन्तर्राष्ट्रिय मानवअधिकार र सर्वोच्चले दिएको यसअघिको आदेश प्रतिकूल कानुन बनाउन नमिल्ने भएकाले संक्रणमणकालीन न्याय निरुपणको सवलामा पनि सोहीअनुसार हुनुपर्ने उनको भनाई छ । 

बर्तौलाले टीआरसी विधेयकको सवालमा पीडितलाई ध्यान दिनुपर्नेमा आफ्नो पार्टीको प्रष्ट अडान रहेको पनि बताए । ‘कानुन बनाउँदा पीडितलाई ध्यान दिनुपर्छ । सत्यको अन्वेषण गर्नुपर्छ’, उनले भने । बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति गरेको छ । 

'१५ महिनादेखि न्यायपालिका प्रमुखविहीन छ । हामीले तत्काल प्रधानन्यायाधीश तत्काल नियुक्ति गरौँ भनेका छौँ', सचेतक बर्तौलाले भने, 'प्रधानन्यायाधिश नियुक्ति अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउन माग गरेका छौँ । प्रधानमन्त्रीले पनि बैठक बोलाउने तयार रहेको बताउनु भएको छ ।' 

आजको बैठकमा सभामुख देवराज घिमिरे, प्रमुख तीन दलका प्रमुख सचेतकसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली सहभागी थिए ।

टिप्पणीहरू