प्रश्नको सामना नगरी निरन्तर "आइ लभ यु"

प्रश्नको सामना नगरी निरन्तर "आइ लभ यु"

भनिन्छ,राजनीति निर्मम हुन्छ । त्यसैले राजनीतिमा भावनात्मक पक्षलाई गौण मानिन्छ । इतिहासका शृंखला र समाज विकासक्रम हेर्दा राजनीतिको परिभाषा यस्तै बनेको छ । राजनीति गर्नुको अभिष्ट हो- शक्तिको बैधानिक अभ्यास गर्ने ठाउँमा पुग्ने, जुन भावनाले नभई  संघर्षले प्राप्त हुन्छ । तर, पछिल्ला दिनमा नेपालमा समाजको मनोविज्ञानलाई भावनामा जोडेर आफू अनुकूल गरिने राजनीतिको खेती फस्टाइरहेको छ । 

मूलधारका राजनीतिक पार्टीहरुप्रति जनतामा रहेको चर्को असन्तुष्टीलाई 'क्यास' गरेर वैकल्पिक शक्तिको नाममा एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी यसको उदाहरण हो । रवि लामिछानेले सञ्चारकर्ममा रहँदा भावोत्तेजक कुरा गरेर कमाएको 'लोकप्रियता' को जगमा उठेको यो पार्टीले समाजमा व्याप्त असन्तुष्टि,मूलधारको राजनीतिप्रतिको आक्रोश र उत्तेजनालाई समाती आफूलाई राजनीतिको राजमार्गमा दौडाइरहेको छ । 

रास्वपाले पाएको चुनावी सफलताका पछाडि अरु पनि कारण होलान्,तर मूलत: पुराना भनिने दलहरुप्रतिको वितृष्णाले नै यो पार्टीको उदय भएको हो । तर, स-साना घटना र विषयले तीब्र प्रतिक्रियात्मक भैहाल्ने नेपाली जनमतलाई मुद्धा र इस्युमा सहमत गराएर रास्वपाले विश्वास आर्जन गरेको भने होइन । केवल अरुको निन्दा, गाली, आवेग र उग्र भाषणले अहिलेसम्म टिकिरहेको यो पार्टी यस्तै कारण शृंखलावद्ध विवादमा पर्दै आएको छ ।   

सभापति लामिछाने स्वयं नागरिकता मुद्दाका कारण मन्त्री र पद गुमाएका पात्र हुन् । उनीमाथि राहदानी दुरुपयोग गरेको आरोप अहिले पनि लागेकै छ । त्यस्तै,उनी गृहमन्त्री हुँदा गरेका कतिपय निर्णय र सचिवालय नियुक्ति पनि विवादरहित रहेन । पछिल्लो समय  सांसद ढाकाकुमार श्रेष्ठको घुस काण्डले रास्वपा थप विवादमा परेको छ । 

श्रेष्ठले मन्त्री बन्नका लागि लामिछानेको 'कोर टीम'लाई बुझाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईं 'मार्सी'सँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाको 'देखाउने र चपाउने दाँत' छुट्टिन थालेको छ । यस प्रकरणले चितवन-२ को चुनाव प्रभावित हुने भएपछि श्रेष्ठलाई कारवाही गरेपनि 'कोर टीम'बारे रास्वपा र रवि बोलेका छैनन् । तर, लामिछानेका सांसदलाई घुस प्रस्ताव गरेका प्रसाईंले कोर टिमका ३ जनाको नाम पोलेका छन् । बाहिर चर्चामा आएअनुसार कोर टीमका एक सदस्य हुन् लामिछानेकी पत्नी, निकिता पौडेल । अरु दुईमा एकजना पूर्व श्रममन्त्री डोलप्रसाद अर्याल र न्युज २४ देखि नै लामिछानेको दाहिना हात भएर काम गरेका दिपक बोहोरा हुन् । 

चुनावी भाषणका क्रममा कोर टिममा जो भएपनि नछोड्ने बताएका लामिछानेले श्रीमतीको नाम जोडिएपछि भने आक्रोश पोखेका छन् । ढाकारामलाई कारवाही गर्न बोलाएको बैठकमा सहभागी हुन हिजो चितवनबाट काठमाडौँ आएका उनले श्रीमतीसँग अंकमाल गरेको फोटो फेसबुकमा राखेर निराधार समाचार र पोस्टहरू नहटाए कडा कानूनी प्रक्रियामा जाने चेतावनी दिँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई तर्साएका छन् ।

‘एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन,कायरहरू उसमाथि खनिएका छन् । बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राजनीतिको रंगमञ्चमा छिरेपछि प्रश्नबाट भाग्दै आएका लामिछाने बेला-बेला मिडियामाथि खनिन्छन् । तर यसपटक उनी लेख्छन्, ‘निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौं । प्रिय निकिता पौडेल लामिछाने,बिना कारण तिमीले सहनु परेको बद्नामी र तनावप्रति कायरहरुको तर्फबाट म क्षमा चाहन्छु । न पीर गर,हामी यो घेराबन्दी तोड्नेछौं, हामी जित्नेछौं । आई लभ यु ।’

आफ्नो श्रीमतीको बिरोध भएकोमा यत्रो चित्त दुखाएका लामिछानेले पूर्व राष्ट्रपति विद्या भण्डारीदेखि भरतपुर महानगरकी मेयर रेणु दाहालसम्मलाई अनेक लान्छना लगाएर आफ्ना समर्थकहरुले सत्तोसराप गर्दा बोलेको सुनिएन् । पूर्वप्रधनमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा, डा. बाबुराम भटराई पत्नी हिसिला यामीहरुले यस्ता थुप्रै आरोपको सामना गरिरहेका छन् । राजनीतिमा लागेका र बेलाबखत विवादमा परेका यी महिला नेतृहरु मात्र होइन, एकजना गायिकाले समेत रविका कार्यकर्ताबाट अनाहकमा गालि खानुपरेको हिजोअस्ति मात्रै हो । 

एक टिभी कार्यक्रममा गायिका एलिना चौहानले आफूले व्यक्तिगतरुपमा रवि लामिछानेलाई चिन्दिन भनेकै आधारमा रास्वपाका समर्थकहरुले सामाजिक सञ्जालबाट उनको सक्दो खेदो खनेका थिए । तर, उनै लामिछानेका समर्थकहरु यतिबेला निकिता पौडेलको समर्थनमा कन्दनी कसेर लागेका छन् । नारीमाथि अपमान गरिएको तर्क गरिरहेका छन् ।  

प्रश्न उठ्छ - यौटी नारीमाथि प्रश्न उठ्दा यत्रो आपत्ति हुने अनि अर्की नारीमाथि आक्रमण नै हुँदा सहेर बस्नुपर्ने ? त्यसैले भावनामा बहकिएर गरिने हाहाहुहुको राजनीति दीर्घकालीन हुँदैन । राजनीतिलाई बिधि, पद्धती र मूल्य मान्यताका आधारमा संचालन गर्न सके मात्रै लामिछानेहरु विकल्प बन्न सक्छन् । नत्र, काँग्रेस, एमाले, माओवादी र रास्वपामा के फरक ?

टिप्पणीहरू