देशको नागरिकता र पसलको पाउरोटी एउटै हो श्रीमान ?

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुशासन र 'राइट मेन इन राइट प्लेस' को नारा दिएर राजनीतिमा होमिएका थिए । उनको पार्टीले 'जान्नेलाई छान्ने' पनि भन्ने गरेको छ । तर, प्रतिनिधिसभा सदस्य मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ भन्ने न्युनतम कुरा नजान्दा उनै लामिछानेले छँदाखाँदाको सांसद र मन्त्री पदबाट हात धुनुपर्यो । मङ्सिर ४ को आमचुनावमा चितवन-२ बाट सांसद जितेर गृहमन्त्री भएका उनको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर्याएपछि रिक्त रहेको चितवन २ मा बैशाख १० गते उपचुनाव हुँदैछ । 

पुन: माननीय भएर सत्तामा उक्लिने तयारीका साथ उपचुनाव उठेका लामिछाने यतिबेला भोट माग्न घरदैलो कार्यक्रममा ब्यस्त छन् । घरदैलोका क्रममा उनले उपचुनाव हुनुपर्ने कारणबारे मतदाताको प्रश्नको सामना गरिरहेका छन् । कानुन नजान्दा वा जानेर पनि लोकप्रियताको दम्भले बलमिच्याई गर्दा भारी मतान्तरले चुनाव जितेको छ महिना नपुग्दै दोहोर्याएर भोट हाल्नुपर्ने अवस्था बनेकोमा लामिछाने नै जिम्मेवार हुन् । त्यसकारण उनले मतदाताले उठाएका प्रश्न र जिज्ञासाको शालीन ढंगले आत्मालोचनासहित जवाफ दिनुपर्थ्यो । तर, उल्टै आफ्नो नागरिकता र उपचुनाव हुनुको कारणबारे प्रश्न गरेका मतदातालाई बेस्कन झपारेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । 

घरदैलोका क्रममा हिजो बुधबार लामिछाने इच्छाकामना- ६ खानीखोला पुगेका थिए । समर्थकको एउटा टोलीसहित उनी स्थानीय सुदर्शन बिष्टको किराना पसलमा पुगे भोट माग्न । माननीय जिताएर पठाएको छ महिना नपुग्दै पुन: भोट माग्न आएका लामिछानेलाई बिष्टले सिधासिधा यो परिस्थिति आउनुको कारण सोधे । त्यसक्रममा बिष्ट र लामिछानेको चर्काचर्की नै पर्यो । 

सञ्जालमा आएको भिडियोमा लामिछानेले आफ्नो नागरिकताबारे बेलैमा ध्यान नपुर्याउँदा दोहोर्याएर चुनाव गर्नुपर्ने अवस्था आएको भन्दै बिष्टले असन्तुष्टी पोखेका छन् । आफ्ना जनप्रतिनिधिलाई प्रश्न गर्न पाउने स्वभाविक हकको प्रयोग गरेका बिष्टलाई लामिछानेले भने चित्तबुझ्दो जवाफ दिन सकेनन् । बरु प्रश्नै प्रश्नको घेरामा परेपछि अत्तालिएका उनले बिष्टलाई हप्कीदप्की मात्रै गरेनन्, उल्टै थुन्ने धम्की दिए । भिडियोमा उनले निकै अशिष्ट व्यवहार देखाएको प्रष्टै देखिन्छ ।  

शुरुमा बिष्टले मिडियामा आएका समाचार हेरेर थाहा पाएको भन्दै लामिछानेलाई प्रमाण नभएको नेपाली नागरिक भनेका थिए । त्यसपछि रिसाएका लामिछानेले जवाफ दिन खोजे पनि बिष्टले प्रश्न गरेको गर्यै गरे । पहिल्यै रिसाइसकेका लामिछानेलाई निरन्तरको प्रश्नले उत्तेजित बनायो र उनले किराना पसलबाट पपको प्याकेट उठाएर, मूल्यसूची र एक्स्पायरी डेट खै भनेर सोधे । बिष्टले पनि अहिलेसम्म यस्तै बेच्ने गरेको भन्दै तपाईं गृहमन्त्री हुँदा किन थिति बसाल्नु भएन भनेर उल्टै प्रश्न गरे । त्यसपछि लामिछानेले पपको प्याकेटमा मूल्यसूची नराखी बेच्नुलाई आफ्नो नागरिकतामा भएको त्रुटीसँग दाँजेर जवाफ दिए । 

पसलको सामान र नागरिकता उही स्तरको हुनै सक्दैन भन्ने यथार्थलाई उनले ख्यालै गरेको पाइएन । तर,लामिछानेको जवाफले सन्तुष्ट नभएका बिष्टले नागरिकता र उपचुनावबारे थप प्रश्न गरिरहे । त्यसपछि रिसले चुर भएका लामिछाने पपको प्याकेट फ्यालेर फन्किंदै त्यहाँबाट बाहिरिए ।  

केही दिनअघि पनि एकजना मतदाताले यस्तै प्रश्न उठाउँदा लामिछाने आक्रोशित भएका थिए । आफूलाई काँग्रेस समर्थक बताउने ती मतदाताले मंसिरमा घण्टीमा भोट हालेको भए पनि यसपटक रुख नछोड्ने बताएपछि रिसाएका उनले व्यंग गर्दै भने, 'हो, छोड्नै हुँदैन, रुखमै भोट हाल्ने हो,देश जे सुकै होस् पार्टी छाड्न हुँदैन ।' 

भनिन्छ, चुनावमा उम्मेदवारले उस्तै परे मतदाताको पाउ पनि मोल्छन् । पाँच वर्ष जनताको अनुहारै नदेख्नेहरुसमेत चुनावका बेला नमस्कार गर्दै गाउँ-गाउँ गएका हुन्छन् । अनेक प्रतिवद्धता गरेर मतदाता रिझाउन लागि पर्छन् । यो चुनावी राजनीतिको यौटा विशेषता नै हो । 

तर,पुराना पार्टीहरुले जनताको पक्षमा काम गर्न नसकेको भन्दै वैकल्पिक शक्तिका रुपमा आफूलाई अघि सारेको रास्वपाका मूल नेता स्वयं मतदाताले उठाएका जिज्ञासा समाधान गराउनुको सट्टा उल्टै हप्कीदप्की गर्दै हिँडेको अनौठो दृश्यले सबैलाई छक्क पारेको छ  । अनेक काण्ड र झमेलाका बीच चुनाव जित्नुपर्ने बाध्यताले 'इरिट्रेट' भएका लामिछानेले त्यसको रिस मतदातामाथि पोखेको धेरैको आरोप छ ।

टिप्पणीहरू