माओवादीले सचेतक छान्यो, दलको विधान संशोधन गर्न कार्यदल गठन
सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई उक्त जिम्मेवारी दिएको हो । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । माओवादीले यसअघि नै हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ ।
आजको बैठकले संसदीय दलको विधान संशोधन गर्न प्रमुख सचेतक पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन पनि गरेको छ । कार्यदलमा प्रतिनिधिसभाबाट पूर्णबहादुर घर्ती र विमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गंगा बेल्वासे सदस्य छन् ।
कार्यदलले अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने संयोजक पाण्डेले बताए । बैठकमा दलका नेता प्रचण्डले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराउनुभएको थियो । तयस्तै, कानुन निर्माणलगायत संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभएको सांसद माधव सापकोटा सुबोधले जानकारी दिए ।
टिप्पणीहरू