अनुशासन समितिमा ढाकाको इन्कारी बयान, अब के होला ?
मेडिकल बिचौलिया भनेर चिनिएका दुर्गा प्रसाईं ’मार्सी’ सँग दुई करोड मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि निलम्बनको कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आरोप अस्वीकार गरेका छन् ।
आज पार्टीको अनुशासन तथा आचरण समितिमा बयान दिन पुगेका उनले अडियोको आवाज आफ्नो नभएको दाबी गर्दै आफूमाथिको कारवाही स्वीकार्य नहुने बताएका हुन् । झण्डै एक घण्टाको बयानमा उनले सार्वजनिक अडियो सम्पादन गरेर आफ्नो जस्तै आवाज बनाइएको दाबी गरेको बताइएको छ ।
रास्वपा स्रोतका अनुसार हिजो राति उनले बुझाएको एकपन्ने लिखित स्पष्टिकरणमा पनि आरोप अस्वीकार गरिएको थियो । बयानका क्रममा श्रेष्ठले आफूलाई नियतवशः फसाउन जालझेल गरिएको जिकिर गरेको बुझिएको छ ।
आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीको ’कोर टीम’ लाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले मार्सीसँग पैसा मागेको अडियो अस्ति सार्वजनिक भएको थियो । त्यसलगत्तै रास्वपाले उनलाई पार्टी सदस्य र सांसदको हैसियतमा कुनै पनि काम कारबाही गर्न नपाउने गरी एक साताका लागि निलम्बन गर्दै छानबिन अघि बढाएको थियो ।
चुनाव प्रचारका लागि चितवनमा रहेका सभापति रवि लामिछानेले ढाका–मार्सी संवादबारे आफैँ उजुरी लिएर अख्तियार जाने बताएका थिए । तर, त्यसपछि पनि श्रेष्ठको तर्फबाट उनका भाइले मार्सीसँग कुराकानी गरेको भन्दै अर्को अडियो सार्वजनिक भएको छ । पछिल्लो अडियोबारे रवि र उनको पार्टीका कुनै पनि नेताहरु बोलेका छैनन् ।
सांसद श्रेष्ठले अडियो रेकर्डमा भएको आवाज आफ्नो नभएको दाबीसहित बयान दिएपछि सभापति रवि लामिछानेको ‘कोर टिम’ बारे पार्टीमा आवाज उठाउने तयारी गरेका केही नेताहरु अप्ठेरोमा परेका छन् ।
टिप्पणीहरू