गगन थापाले भने - तीन महिना प्रधानमन्त्री र मन्त्रीहरुको अनुहार देख्न नपाए हुन्थ्यो

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तीन महिनाको अवधिमा सरकारले जनतामा आशा जगाउने गरी काम गर्न नसकेको भन्दै असन्तुष्टी जनाएका छन् । सरकार अझै अलमलमा रहेको र गति लिन नसकेको उनको गुनासो छ । 

काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै महामन्त्री थापाले यो सरकारलाई हिँडेर गन्तव्यमा पुग्ने छुट नभएकाले दौडिनुपर्ने बताए । तर, तीनमहिना भैसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको भन्दै उनले असन्तुष्टी जनाए । 

सरकार आर्थिक अवस्था सुधारमा गम्भीर भएर लाग्नुपर्ने थापाको सुझाव छ । त्यसक्रममा महामन्त्री थापाले अहिले प्रधानमन्त्री र मन्त्रीहरूको फोटो समाचारमा आउँदा पनि आफूलाई नरमाइलो लाग्ने गरेको बताए । 

‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ', उनले भने, 'प्रधानमन्त्री र मन्त्रीले त यो बेलामा फोटो खिच्नु पनि पर्दैन । तीन महिनाजति प्रधानमन्त्री र मन्त्रीहरूको कहीँ टेलिभिजन र अनलाइनमा अनुहारै देख्न नपाए हुन्थ्यो । त्यो भनेको नराम्रो सेन्समा होइन ।’

टिप्पणीहरू