रामपुर क्याम्पसमा कार्यकर्ता कुटिएको भन्दै काँग्रेसको आपत्ति

रामपुर क्याम्पसमा कार्यकर्ता कुटिएको भन्दै काँग्रेसको आपत्ति

चितवनको रामपुर कृषि क्याम्पसका एक विद्यार्थी नेता कुटिएका छन् । स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवारसमेत रहेका नेविसंघ क्याम्पस कमिटीका सभापति विवेक अर्यालमाथि हिजो कुटपिट भएको हो ।

क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकको मिलोमत्तोमा स्ववियु निर्वाचनमा एकलौटी फर्जी मतदान भएकाले पुनः निर्वाचनको मागसहितको ध्यानाकर्षण पत्र बुझाउन गएका बेला उनीमाथि कुटपिट भएको बताइएको छ । कांंग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाको यथार्थ छानबिन गर्न माग गरेका छन् । 

‘चैत १७ गतेका दिन एकलौटी तवरले मतदान गराई निर्वाचनको नतिजा घोषणा गरेको घटनालाई लिएर पुनः निर्वाचन गराउन र दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेविसंघ रामपुर क्याम्पस खैरेहनीका सभापति एंव स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको हुनाले उक्त घटनाको यथार्थ छानबिन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ । 

मुख्य सचिव पौडेलका अनुसार यसअघि निर्वाचनको विरोध गरेको भन्दै क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा नेविसंघका स्ववियु सभापतिका उम्मेदवार आशिष जैसी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भिर घाइते छन् ।

उनीहरुको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताउँदै विज्ञप्तिमा उचित उपचारको प्रबन्धको माग पनि गरिएको छ ।

टिप्पणीहरू