मंसिरमा टिकट खोसिएका एमालेका रामप्रसाद बैशाखमा उम्मेदवार

मंसिरमा टिकट खोसिएका एमालेका रामप्रसाद बैशाखमा उम्मेदवार

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ का लागि नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेको नाम एकल सिफारिस भएको छ । क्षेत्रीय समिति र जिल्ला समितिले उनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेता कृष्णभक्त पोखरेले जानकारी दिए ।

गत मंसिरको निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी निष्क्रिय पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गरेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । यसपटक उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छन् ।  

गत चुनावमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा अदालतले उनको सांसद पद खारेज गरिदिएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।

उपचुनावमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । रास्वपाले सभापति लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ ।

टिप्पणीहरू