कोशी प्रदेश विरुद्धको ‘संघीय मार्च’ माइतीघरमा
कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै राजधानीको माइतीघर मण्डलामा आन्दोलन थालिएको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिको आयोजनामा माइतीघरबाट ‘संघीय मार्च’ निकालिएको छ ।
‘कोशी’ नामाङ्कनको विरोध र आदिवासी जनजातीय पहिचानसहितको प्रदेश नामाकरणको लागि दबाब दिन माइतीघरदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनसम्म पहिचान यात्रा थालिएको समितिले जनाएको छ ।
समितिले ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश नम्बर १ को पुनः नामाङ्कन गर्न माग गरेको छ । आन्दोलनकारीहरुले ‘प्रदेशको नाम कोशी खारेज गर’, ‘प्रदेशको नाम कोशी मान्दैनौं’,‘ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश नम्बर १ को नामाङ्कन गर’,‘पहिचानवादीहरु एक हौं’,‘हाम्रो आन्दोलन जारी छ’, ‘मुक्ति योद्धा पदम लिम्बुलाई शहीद घोषणा गर’, लगायत नारा लगाएका छन् ।
कोशी प्रदेशलाई पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै केही सातायता निरन्तर आन्दोलन भइरहेको छ । आन्दोलनको क्रममा एक पहिचानवादी प्रदर्शनकारीको मृत्युसमेत भइसकेको छ ।
टिप्पणीहरू