नेपाली काँग्रेस अक्षम गिरोहमा परिणत भएको स्वर्णिम वाग्लेको ठहर
आगामी बैशाख १० गते हुने उपचुनावमा टिकट नपाएपछि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा देउवापत्नी आरजू राणालाई गाली गर्दै पार्टी परित्याग गरेका अर्थाविद् स्वर्णिम वाग्लेले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्ने बताएका छन् ।
काँग्रेस संस्थापन इतरका नेताहरुलाई मोबाइलमा म्यासेज पठाएर पार्टी छाडेको जानकारी गराएको केही घण्टापछि सामाजिक सञ्जाल फेसबुकमा देखिएका उनले सबै मिलेर वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । फेसबुकमा लेखेका छन्, ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’
सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने बताएका वाग्लेले आमनैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने पनि उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसको विगतप्रति गौरव गरेका उनले पछिल्लो समय दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत भएको आरोप पनि लगाएका छन् ।
‘पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ’, उनले लेखेका छन्, ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’
टिप्पणीहरू