मदन भण्डारीको मुद्दाले स्ववियु निर्वाचनको बाटो खुलायो

मदन भण्डारीको मुद्दाले स्ववियु निर्वाचनको बाटो खुलायो

विभिन्न कारणले चुनाव रोकिएको क्याम्पसहरुमा तत्काल पुनः निर्वाचन गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पस, मीनभवनमा रहेको नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन तत्काल गर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

चैत ५ गते निर्धारित चुनाव बिथोलिएपछि विद्यार्थीहरुले पुनः निर्वाचनको माग गर्दै अदालत गुहारेका थिए । आरआर क्याम्पसमा एम.ए प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थी मदन भण्डारीले क्याम्पस प्रशासनसहित अन्य पाँच जनाविरुद्ध मुद्दा दायर गरेका थिए । 

त्यस्तै, एम.बि.एस तेस्रो सेमेष्टरका विद्यार्थी अर्थात स्ववियु निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुरेश जिसीले पाटन संयुक्त क्याम्पसविरुद्ध मुद्दा हालेका थिए । नेपाल कमर्श क्याम्पसविरुद्ध त्यहाँ अध्ययनरत विद्यार्थी एवम् स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार दिवस सापकोटा अदालत गएका थिए । 

उच्च अदालतले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन फैसला सुनाउँदै उनीहरुले हालेको मुद्दाको छिनोफानो गरिदिएको हो । चैत ५ गते नै सम्पन्न हुनुपर्ने निर्वाचन स्थगित भएपछि विद्यार्थीहरुले क्याम्पस प्रशासनमाथि औंला उठाएका छन् । 

आरआर क्याम्पसमा तालाबन्दीका कारण चुनाव हुन नसकेको हो । क्याम्पस प्रशासनले पटक पटक वार्तामा आउन आग्रह गरे पनि सहमति हुन सकेको थिएन ।

नेपाल कमर्श क्याम्पसमा चैत ११ गते पुनः निर्वाचन ताकिएको थियो । तर, क्याम्पस प्रमुख प्रा. ध्रुवप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी चुनावमा अनुपस्थित र लगत्तै सम्पर्कविहीन बनेपछि मतदान रोकिएको हो ।

टिप्पणीहरू