तिलोत्तमाका भूमिहीनलाई धमाधम लालपूर्जा

तिलोत्तमाका भूमिहीनलाई धमाधम लालपूर्जा

ऋषि भट्टराई

रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ मा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण कार्य शुरु गरिएको छ । तिलोत्तमा–१४ स्थित विन्दुनगरमा अस्ति विन्दुनगर गाइघाट टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा १२ जनालाई लालपूर्जा वितरण गरिएको हो । 

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरभित्रका सम्पूर्ण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत नगरपालिकासँग रहेको बताउदै बाँकी भूमिहीनलाई पनि क्रमिक रुपमा लालपूर्जा वितरण गरिने जानकारी दिएका छन् । उनले आफ्नो कार्यकालमा सबैको हातमा लालपूर्जा उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

लालपूर्जा वितरणपछि पुनः नापीको काम थालिने उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यकालमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएकाले यसलाई पूरा गर्न कटिबद्घ छु ।’ नगरप्रमुख खाँणले सबैको साझा प्रयासले तिलोत्तमाको विकास र समस्या समाधान गर्न सकिने समेत बताएका छन् । 

तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष आश्विन पौडेलले सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न आयोग नै बनाएर अघि बढेको जानकारी दिए । नगरपालिकाको सक्रियतापछि १२ जनालाई लालपूर्जा वितरण गर्न सफल भएको उनको भनाइ छ । त्यसैगरी वडामा रहेका अन्य भूमिहीनलाई पनि छिट्टै लालपूर्जा दिने प्रतिबद्धता जनाएका छन् । हाल वडामा एक सयको हाराहारीमा सुकुम्वासी रहेको र नापजाँचको काम सकिएको जानकारी पनि दिइएको छ ।
 

टिप्पणीहरू