ब्रिनोजमा आन्तरिक कलह

ब्रिनोजमा आन्तरिक कलह

नेपालगञ्जमा क्रियाशील ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नामक संस्थामा विवाद सृजना भएको छ । संस्थाको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको छ ।

संस्था विधान विपरित सञ्चालन भएको, संस्थाभित्र चरम अनियमितता रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा गत फागुन १५ गते उजुरी दर्ता भएको बताइएको छ । संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुले अध्यक्षलगायतलाई विपक्षी बनाउँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका हुन् । 

संस्थाको विषयमा उजुरी परेको जिल्ला बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के.सी.ले जानकारी दिएका छन् । दर्ता भएको उजुरीमा संस्था विद्यान विपरित सञ्चालन भइरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छ ।

उच्च प्रतिबद्धताका साथ संस्थाको गरिमालाई उँचो पार्न अहोरात्र खटिरहँदासमेत आफूलाई विधान, ऐन, नियम विपरित हटाउन संस्थाको कार्यसमिति लागेको जानकारी गराउँदै छानबिन गरी दोषीलाई कारबाही गर्न थारुले माग गरेका छन् ।
२०५७ सालमा फत्तेवाल आँखा अस्पतालबाट समुदायमा आधारित कान स्वास्थ्य कार्यक्रम ब्रिटेन नेपाल अटोलोली सर्भिसको सहयोगमा बाँकेका तत्कालिन पाँच गाविसको निम्ति थालिएको उक्त संस्थामा पुरण स्वास्थ्य सहायकको रुपमा पहिलेदेखि नै कार्यरत हुन् । 

२०५८ देखि २०६४ सालसम्म नेपाल रेडक्रस सोसाइटीको अन्धोपन तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्र्तगत सञ्चालित उक्त सेवालाई २०६५ मा पुरणलगायतकै पहलमा कान स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्य गर्ने, प्राथमिक श्रवण पुर्नस्र्थापना सेवा प्रदान गर्ने लगायत उद्देश्य राखेर स्थापना भएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा संस्था २०६५ चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको हो ।

आफूलगायतको अथक मेहेनतबाट ब्रिटेन नेपाल अटोलोली सर्भिसको सहयोगमा सन् २०१३ मा शिलान्यास भई २०१५ मा संस्थाको भवन नेपालगञ्जको फुल्टेक्रामा निर्माण भएको बताइन्छ । फत्तेवाल आँखा अस्पातलबाट सेवा प्रबाह भइरहेकोमा सन् २०१६ देखि आफ्नै भवनबाट सेवा शुरु भएको थारुले निवेदनमा उल्लेख गरेका छन् ।

संस्थाले शुरुवातदेखि हालसम्म लाखौं बिरामीलाई सेवा प्रदान गरेको, सम्पूर्ण सेवा प्रवाहमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको, संस्थाको छबि उच्च पार्न आफू शुरुदेखि सक्रिय रहेको, संस्थालाई अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउन र सामाजिक रुपमा स्थापित गर्न, बाँके, बर्दिया, सुर्खेत र दैलेखमा सेवा विस्तार र विभिन्न जिल्लामा शिविर सञ्चालन गर्न अहोरात्र खटिएको, नेपालको पहिलो कान सहायकको रुपमा कार्य शुरु गरेर हालसम्म उक्त संस्थामा कार्य गरिरहेको उनले लिखित रुपमा उल्लेख गरेका छन् ।

थारुले संस्था स्थापना हुनुपूर्व देखि नै उक्त कार्यक्रमको व्यवस्थापकीय प्रमुखको रुपमा कार्यरत रहँदै आएको, संस्था स्थापना भईसकेपछि संस्थाबाट कान स्वास्थ्य अधिकृतको रुपमा नियुक्त भएको, सन् २०१६ देखि प्रमुख कार्यकारी पदको रुपमा नियुक्त भएकोे र सोहीबमोजिम आफूले संस्थाको सम्पूर्ण व्यवस्थापकीय प्रमुखको रुपमा कार्य गर्दै आएको उनले हालेको निवेदनमा उल्लेख छ ।

संस्थाको विधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, वार्षिक रुपमा साधारण सभा नरेको, नवीकरणका लागि कागजी रुपमा साधारण सभा गर्ने गरिएको, स्थापनाकालदेखि हालसम्म एउटै कार्य समिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिइएको, विधानबमोजिम कुनै पनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लगाइएको छ । उनले संस्थाभित्र आन्तरिक सुशासन कायम गर्न पहल गर्दा उल्टै आफूलाई संस्थाबाट हटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै थारुले ती विषयमा न्याय प्रदान गर्न प्रशासनसँग माग गरेका हुन् ।

कुनै पनि आरोप लाग्दा आरोप प्रमाणित नभई कोही, कसैलाई कार्वाही गर्न नहुने कुरा जगजाहेर रहेको उनको भनाइ छ । सो अवस्थामा गत माघ १६ गते एकाएक विद्यान, श्रम ऐन, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र विपरित कपोलकल्पित आरोप लगाई आफूलाई निलम्बन गरिएको उनको दाबी छ । उनले गुण्डागर्दी शैलीमा आफूसँग जबरजस्ती कार्यकक्षको साँचो मागिएको, २०७९ माघ १७ गतेदेखि कार्यालय जानबाट रोक लगाइएको पनि उनले निवेदनमा उल्लेख गरेका छन् । 

निवेदनमा लेखिएको छ, ‘निलम्वन गर्नु पूर्व लागेका आरोपहरुबारे छानबिन गर्ने, सफाई दिने मौका समेत नदिई निलम्बन गरिनु गैरकानुनी रहेको महशुस मलाई भएको छ । तथापी निलम्बन गरिएको भनि पठाईएको पत्रमा स्पष्टिकरण समेत माग गरिएकाले मैले हदैसम्मको लचकता अपनाई २०७९ माघ २२ गते संस्थालाई स्पष्टिकरण बुझाएँ । मैले स्पष्टिकरण बुझाई सके पश्चात फाल्गुण ५ गते संस्थाले पुनः स्पष्टिकरण पेश गर्न पत्राचार गर्यो, सो पत्रबमोजिम मैले फाल्गुण ८ गते पुनः स्पष्टिकरण संस्थालाई बुझाईसकेको छु । यसरी पटक, पटक स्पष्टिकरण माग्ने, स्पष्टिकरण दिँदा समेत मेरो स्पष्टिकरणलाई रद्दिको टोकरीमा फाल्ने र जवरजस्ति राजिनामा माग गर्ने काम उक्त संस्थाबाट भईरहेको छ ।’ 

पुरणले गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखालगायतलाई बोधार्थ समेत दिँदै लेखेका छन्, ‘मलाई लगाइएका कुनै पनि आरोप प्रमाणित छैनन्, आरोप प्रमाणित भएमा म जुनसुकै कारबाहीको भागिदार हुन तयार रहेको छु । उल्लेखित पृष्ठभूममा हाल उक्त संस्था नवीकरण हुन समेत सकेको छैन, म स्थापनाकालदेखि कार्यरत कर्मचारीलाई मेरो योगदानको कदर नगरी कपोलकल्पित, भ्रामक, निराधार, झुठा आरोप लगाई मेरो मान, मर्दन हुने गरी मलाई निलम्बन गरिएकाले मेरो मानव अधिकार हनन भएको छ । अतः उल्लेखित तथ्य, यस निवेदन साथ संलग्न प्रमाणहरुका आधारमा छानबिन गरि मेरो पुनर्बहालीका लागि आवश्यक व्यवस्था मिलाई न्याय प्रदान गरिदिनहुन अनुरोध छ ।
 

टिप्पणीहरू