माधवतिरबाट को बन्लान् मन्त्री ?

माधवतिरबाट को बन्लान् मन्त्री ?

आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने बालुवाटारको सुरसार छ । तर, दलैपिच्छे मन्त्रीमा कसलाई पठाउने, कसलाई नपठाउने ? भनेर लफडा चलिरहेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई गृह मन्त्रालय प्राप्त भएमा उपाध्यक्ष राजेन्द्र पाण्डेको सम्भावना छ भने अर्का उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जानेबारे छलफल चलिरहेको छ । तर, ६ महिनापछि रिक्त हुने राष्ट्रियसभा अध्यक्षमा उनलाई पठाएर अहिले प्रकाश ज्वाला वा भानुभक्त जोशीको व्यवस्थापन गर्ने प्रस्ताव पनि आएको छ । उक्त पार्टीले दुई क्याबिनेट र एक राज्यमन्त्री पाउने पक्का छ । त्यस्तो हुँदा एकजना महिला अनिवार्य पठाउने तयारी भइरहेको छ । तर, महिला को होलान् ? अहिलेसम्म टुंगो लागेको छैन ।

यदि, कोशी प्रदेशको मुख्यमन्त्री राजेन्द्र राई भए भने बागमती प्रदेशबाट राष्ट्रियसभाकी सदस्य गोमा तिम्सिनालाई पठाउने, राजेन्द्र मुख्यमन्त्री भएनन् भने राष्ट्रियसभाकै अर्की सदस्य जयन्ती राईलाई पठाउने पार्टी अध्यक्ष माधव नेपालको सुरसार देखिन्छ । तर, सुदूरपश्चिमकी गरिमा शाह पनि उत्तिकै आकांक्षी छन् । एमालेबाट विद्रोह गरेपछि माधव नेपालका निम्ति अन्तिम अवस्थामा विद्रोह गरी आउने तीन भाइमध्येका एक जनालाई अवसर दिन बाँकी छ । उनी हुन्, धनबहादुर बूढा ।

तर, कोशिशचाहिँ धनबहादुर भन्दा बढी किसान श्रेष्ठ र प्रेम आलेहरूकै चलिरहेको छ । नयाँ पार्टी गठन भएपछि मन्त्री भइसकेका कसैलाई पनि अहिले नपठाउने नीति पार्टीले बनाउने भएको छ । संसदको यो कार्यकालभरिमा सबै सांसदहरूले मन्त्रीको मौका पाउने गरी कार्यविधिको मस्यौदा बनिरहेको बताइन्छ । त्यसअनुसार, अहिले मन्त्री भएर जानेहरूले एक वर्ष सरकारमा रहने र त्यसपछि अर्का तीन जनालाई पठाउने । यस्तो गर्दा पाँच वर्षमा १५ जनाले मन्त्रीको मौका पाउँछन् । प्रचण्डपछि, अर्थात् दुई वर्षपछि माधव नेपालको प्रधानमन्त्री हुने पालो आउँदा थप मन्त्री बनाउन सकियो भने प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै (१८ जना) को भाग पुग्नसक्ने हिसाब निकालिएको छ । 

जसरी एमाले नेताहरूले बीचमा कांग्रेसबाट गड्बडी हुँदैछ भनी संकेत गरेका छन्, सत्तारुढ गठबन्धनभित्र त्यसबारे गहिरो छलफल भएको छ । कांग्रेस नेताहरूले भनेका छन्, ‘विषय नै नमिल्ने (एमाले) सँग हामी किन मिल्ने ?’ उनीहरूको प्रश्न छ, ‘अहिले आएर प्रतिनिधिसभा विघटन गर्नु सही थियो भन्नेसँग कसरी मिल्ने ?’ यस्तो कुरा मुख्यतः चार दलका बीचमा उठेको हो । त्यसमध्ये आजभोलिमै तीन पार्टीको मोर्चा बन्दैछ, गठबन्धनचाहिँ चार पार्टीसहितको हुनेछ । सँगसँगै यही गठबन्धनमा अरुलाई पनि ल्याएर जोड्ने तयारी छ ।

अनुमान के गरिएको छ भने, रवि लामिछाने नेतृत्वको रास्वपाले भनेजस्तो मन्त्रालय नपाउँदा सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि सक्छ । किनभने, राहदानी मुद्दामा उन्मुक्ति दिनुपर्ने शर्तसहित यो सरकारलाई समर्थन गरेका उनको त्यो माग पूरा भइसकेको छ । अहिले उनले उपप्रधानसहितको गृह मन्त्रालय नै मागेका छन् । तर, सत्तासाझेदार दलहरू दिन तयार छैनन् । यही कुराको घुर्की लगाउन उसले उपराष्ट्रपति निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई मतदान गरेन । रास्वपाका केही सांसदले ममता झा र केहीले एमालेकी अष्टलक्ष्मी शाक्यलाई मत हालेको अनुमान छ । त्यति हुँदा पनि रामसहायले गठबन्धनभन्दा दुई मत बढी ल्याएका छन् । तर, एमालेले आफ्नोबाहेक ८ मत बढाएर राष्ट्रियसभाका समेत ९७ सांसद रहेकोमा १०४ मत ल्याएको र त्यो मत रास्वपाकै भएको चर्चा छ ।
 

टिप्पणीहरू