पचपन्न वटा हारपछिको मीठो पुरस्कार

पचपन्न वटा हारपछिको मीठो पुरस्कार

अक्सर हामी जीवनमा चालेका एक/दुई वटा प्रयासमा असफलता हात लाग्नेबित्तिकै ‘डिप्रेश’ हुन्छौँ । कि त छाड्छौँ त्यो प्रयास वा मोड्छौँ जीवनको गन्तव्य । तर, एक दुई पटक होइन, ५५ औं पटकसम्म असफलताले पच्छाइरहँदा पनि मैले छोडिन कोशिश गर्न र मन मोड्न । लेखिन्छन् वा पढिन्छन् धेरैका असफलताका कथाहरू तर त्यही सफलता प्राप्त गर्नका लागि उसले के कस्ता पापड बेल्यो ? कमै मात्र खोजिन्छ । मान्छेहरू हिच्किचाउँछन् आफ्नो असफलताका कथा सुनाउन तर म आज भने दिल खोलेर सुनाउँदै छु आफ्नै असफलताको कहानी । सम्भावनाको एउटा द्वार बन्द भए पनि खुला हुन्छन्, अरु तीन ढोका । मनीष जोशी ५५ पटकको प्रयासपछि सरकारी सिन्दूर लगाउन सफल भएका छन् । जन्मिए, हुर्किए बर्दिवासमा । ६ दाजुभाइ, तीन बहिनी ।

बुबाका दुई श्रीमती भएको कारण परिवार ठूलो थियो । कृषिमा आबद्ध परिवार, खाने मुख धेरै । घाँस दाउरा, मेलामातमै बढी बित्यो बालापन । चेतना आएदेखि नै खेतीपातीमा सहयोग गर्थे । विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययनको अनुभव सुखै रह्यो । ०६२ सालमा एसएलसी उत्तीर्ण भए । थप अध्ययनका लागि खर्च जुटाउन ट्युसन पढाउन थाले । श्री जनता उच्च माध्यमिक विद्यालयको फष्र्ट ब्याच, त्यहीबाँट प्लस टु पार लगाए । बिहान ट्युसन, दिउँसो फाइनान्सको काम पनि गर्दा कलेज खर्च जुटाउन त्यति गाह्रो परेन । त्यहीँबाट ब्याचलर तह उत्तीर्ण भए ०६८ सालमा । स्कूल र कलेजका परीक्षाको नतिजाले लाग्थ्यो जीवन सहज तरिकाले कट्छ तर सोचेजस्तो कहाँ हुन्छ र जीवन ? 

०६८ सालमा छिरे, राजधानी । मनमा घिडघिडो थियो, जसरी भए पनि सरकारी जागिर खाने । परिवारका कोही पनि सरकारी सेवामा थिएनन् । गाउँकै एक जना अग्रज सुदर्शन ढकाल । सहसचिवबाट अवकाश प्राप्त उहाँ अहिले बाग्मती प्रदेश लोकसेवा आयोगको सदस्य हुनुहुन्छ । उहाँकै प्रेरणाले उनलाई निजामती सेवामा लाग्ने रहर जागेको हो । त्यही जागिर खानका लागि गरेका प्रयास, संघर्षका अनुभव हुन् यी । जीवनमा पढाइमा कतै नचिप्लिएको उनी लोकसेवाको परीक्षामा ५५ पटक असफल भए । पहिला परीक्षा दिएको थिए ०६८ सालमै कर्मचारी सञ्चयकोषको । त्यसपछि एक पछाडि अर्काे परीक्षा दिइरहे, नतिजा हात लाग्थ्यो उही असफलता । आयोगले खुलाएका र योग्यताले भ्याउने एकपछि अर्काे परीक्षा दिइरहे । कतै शुरुमै असफलता हात लाग्थ्यो ।

कतै पहिला पत्रमा सफल हुन्थे । कुनै परीक्षामा सबै पास भएर पनि वैकल्पिकमा नाम पथ्र्याे । यो बीचमा केही निजी कम्पनीमा काम गरे, लेखापालकै रूपमा । ती ठाउँबाट काम गरेर आर्जित रकम लोकसेवा लड्नमै खर्च भयो । लगातार १० वर्षसम्म विभिन्न संस्थान, निकायको परीक्षा दिए । कर्मचारी सञ्चयकोष, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, वायुसेवा निगम, काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड । कम्प्युटर अपरेटरदेखि गणक, नासु तहसम्म यस्ता कुनै विज्ञापन रहेन, जहाँ उनले आवेदन दिएर परीक्षा लडेको नहोस् । कतै प्रारम्भिक परीक्षामै असफलता हात लाग्थ्यो त कतै दोस्रो चरणमा । कतै नाम वैकल्पिकमा गएर अटाउँथ्यो । यो असफलताबाट कहिलेकाहीँ अत्यास पनि लाग्थ्यो होला बिचरा । यो बीचमा असफलता झेल्ने बानी नै लाग्यो । एकातिर लोकसेवाको परीक्षामा बर्सेनि असफलता, अर्काेतिर उमेर छिप्पिँदै गएको अर्थात् नेपालको नियमअनुसार सरकारी सेवा प्रवेशको अधिकतम उमेर हदको नजिक नजिक पुग्दै गरेको र जति जति उमेर चढ्दै जान्थ्यो उति उति निराश बन्दै गएको । 

वर्षभरि मिहिनेत गरेको लोकसेवा परीक्षाको नतिजाको व्यग्र पर्खाइमा हुन्थे तर सदैव फेल । एकपछि अर्काे असफलताले पच्छ्याउँदा, पाइलैपिच्छे असफलता मात्र हात लाग्दा आकाश नै खसेर थिचेजस्तो, टेकेको धर्ती नै भासिएजस्तो लाग्थ्यो । अकल्पनीय, अविश्वसनीय । एकपछि अर्काे असफलता झेल्दै गए । एउटा, दुइटा होइन ५५ पटक लोकसेवा अधिकृतको परीक्षामा अनुत्तीर्ण भए । संघीय लोकसेवा आयोगका विभिन्न ३२ वटा, प्रदेश लोकसेवा आयोगतर्फ ८ पटक अनुत्तीर्ण भए । प्राधिकरण, बैंक तथा संस्थानमा १५ पटक असफल भए । यीमध्ये केहीमा वैकल्पिकतर्फ नाम निस्कियो । कुनै परीक्षामा पहिलो पत्रमै असफल भए । भन्छन् नि जीवनमा सबै चिज खानु तर नखानु हरेश । हो, त्यही आशास्वरूप प्रयास गरिरहे र ५६ औं पटकको प्रयासमा प्रशासन समूह, लेखा समूहमा राप अन प्रथम श्रेणीतर्फ नाम निकाल्न सफल भए । भन्छन्– निरन्तर नदीको बहावले ठुल्ठूला चट्टान त पगाल्न सकिन्छ । उसैगरी निरन्तर प्रयास गरेको खण्डमा नहुने र नमिल्ने केही छैन । मनमा सकारात्मक ऊर्जा लिएर लगातार प्रयास गरिरहे । ५६ औं पटकको प्रयासमा संघतर्फ नायब सुब्बा (लेखा)तर्फ नाम निकाल्न सफल भए । 

अभाव, बाधा र कैयन रहरहरूको आँशु पिएर सरकारी कर्मचारी बन्न सफल भए । भनिन्छ, मान्छे त्यतिखेर बर्बाद हुन्छ, जब सपना पनि स–साना मात्र देख्छ र ती सपना पूरा हुँदै जान्छ । उनको त एउटै सपना थियो, निजामती सेवामा प्रवेश गर्ने । निजामतीबाहेक अरुको झल्को नै नआउने । उनी लडेको देख्दा हाँस्नेहरू धेरै थिए । अरु त अरु आफन्त पनि यसैमा थिए । खिसी गर्थे । यसले जीवनमा केही गर्न सक्दैन भन्थे । त्यो दुःखद बेला दुखेको घाउमा नुनचुक छर्नेहरू सबैभन्दा ठूलो गुरु हुन् । तिनकै प्ररेणाले मिहिनेतलाई दोब्बर पार्न हौसला मिलेको हो । भन्छन् नि, ईख नभएको मान्छे र विष नभएको सर्पको काम छैन । लगातार लोकसेवामा मात्र घोटिरहेको र असफलता मात्र मिलेको देख्दा आमाले भन्नुभएको छ– छोरा, लोकसेवा मात्र कति दिन्छस्, आइज बरु अरु नै केही गर । बुवा भन्थे गाउँ फर्की यतै प्राइभेट स्कुल खोलेर चलाउँला तर सम्झिए यी प्रवेशपत्रहरूको ठेली । दश वर्षसम्म सम्पत्तिका नाममा जोडेका पुस्तक । गाउँ गएर व्यापारै गरे पनि, स्कुलै चलाए पनि फेरि शून्यबाटै शुरु गर्नु छ । दश ठाउँमा एक एक मीटरको दश खाल्डो खन्नुभन्दा एकै ठाउँमा दश मीटर गहिरो खाल्डो खन्दा तल जमिनको पानी भेटिन सक्छ भनेझैँ यही मिहिनेत अझै बढाए । मिहिनेतको शैली बदले र ०७८/७९मा जलेश्वरबाट नासु प्रशासन र लेखाको दुबैतर्फ लिखितमा उत्तीर्ण भए । आफ्नो क्षेत्र प्रशासन नभएका कारण लेखातर्फ काम गर्न रुचि राखे र सोहीअनुसार कोलेनिका सिरहामा सिफारिससमेत भइसकेको छ । 

समाजमा औसतम मानिसहरू एक दुई प्रयासमै असफल हुन्छन् । र, प्रयास गर्न छाड्छन् । लक्ष्य लिएर निरन्तरको प्रयास गर्ने हो भने असम्भव भन्ने चिज केही छैन । उनी नायब सुब्बा त बने तर त्योभन्दा महत्वपूर्ण कुरा – यो क्रममा रूपान्तरित मान्छे पनि बने । जीवनलाई हेर्ने दृष्टिकोण बदले । आफ्ना कमीकमजोरी पनि स्विकार्न सिके । आफ्नो अपूर्णतामा पनि रमाउन थाले । भनिन्छ नि जीवनमा तपार्ईंं संघर्ष गर्दै गर्दा कहिल्यै आत्तिनु हुँदैन किनकि संघर्षको बखत मात्र मान्छे एक्लो हुन्छ, सफलता पाएपछि सारा संसार साथमा हुन्छ । 

महिलाको सफलतामा पुरुषको हात भएझैँ सबैभन्दा ठूलो साथ उनलाई बुवा, आमा र श्रीमतीको छ । जीवनसाथी ललिता थापा (स्थायी शिक्षक) हुन् । यो त पाइला मात्र हो निजामती सेवाको । धेरै माथिसम्म पुग्ने रहर छन् । हेरौँ समयले कति साथ दिन्छ भन्छन् ।

– सुजाता परियार
 

टिप्पणीहरू