काँग्रेसले गल्ती नदोहोर्याउने, गठबन्धन र सरकार सफल बनाएरै छाड्ने

काँग्रेसले गल्ती नदोहोर्याउने, गठबन्धन र सरकार सफल बनाएरै छाड्ने

विगतमा माओवादी केन्द्रसँगको सहकार्यप्रति अनुदार रहँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउने बताएका छन् । 

आज काठमाडौं आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विगतको कमजोरीबाट सिकेर काँग्रेस गठबन्धन सफल बनाउन लागिपर्ने बताएका हुन् । १० दलीय गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल तुल्याउने जिम्मा काँग्रेसले लिने पनि उनको भनाइ छ ।    

काँग्रेस अब केही दिनमै सरकारमा जाने तयारीमा रहेको भन्दै नेता कोइरालाले भने, ‘नेपाली काँग्रेस केही दिनभित्र नै सरकारमा जाँदैछ । अब हामीलाई गल्ती गर्ने छुट छैन । कुनै किसिमको कमी कमजोरी नेपाली काँग्रेसबाट अब हुनु हुँदैन ।’ 

अहिलेको परिस्थितिलाई काँग्रेसले गम्भीर रुपमा नियालिरहेको भन्दै उनले काँग्रेसलाई गल्ती गर्ने र असफल हुने छुट नभएको पनि बताए । त्यसक्रममा नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा आफ्नो पार्टी कहिल्यै नचुकेकोेसमेत बताएका थिए । उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने ठोकुवा गरेका छन् ।

टिप्पणीहरू