बीमा रकम कुम्ल्याएर कर्मचारी फरार

बीमा रकम कुम्ल्याएर कर्मचारी फरार

स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी बीमा रकम लिएर फरार भएका छन् । सर्वसाधारणले स्वास्थ्य बीमावापत भुुक्तानी गरेको रकम आफ्नो खातामा जम्मा गरेर बोर्डका कर्मचारी बेपत्ता भएका हुन् । 

उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली बीमाको रकम आफ्नो खातामा जम्मा गरेर गत पुसदेखि सम्पर्कविहीन रहेको जनाइएको छ । गत असोज महिनासम्म उठेको २१ लाख ८५ हजार १५० रुपैयाँ हिनामिना गरेर भागेका उनी हालसम्म पनि सम्पर्कमा नआएको बोर्डले जानकारी दिएको छ । 

उनले बीमावापत जम्मा भएको रकम आफ्नो खातामा राखेर व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरेर पेश गरेका थिए । तर, खातामा रकम नभएकाले चेक बाउन्स भएको थियो । पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा नआएपछि बोर्डले पुस १३ गते स्पष्टीकरण सोधेको थियो । तर, अहिलेसम्म पनि अलीले कुनै प्रतिक्रिया नदिएको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए । 

बोर्डले गत फागुन २९ गते पुनः स्पष्टीकरण सोधेको हो । सात दिनभित्र रकम बैंकमा दाखिला गरेको प्रमाण र बिना जानकारी कार्यालय नआउनुको कारणसहित स्वयम् उपस्थित हुन भनिएको छ । तोकिएको समयमा कार्यालय उपस्थित नभएमा अपचलन गरेको रकम ब्याजसहित असुल गर्ने र प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू