सरकारी कर्मचारी नै स्ववियुमा उम्मेदवार

सरकारी कर्मचारी नै स्ववियुमा उम्मेदवार – यदुनाथ बञ्जारा, पोखरा

अञ्जना अधिकारी बेनी अस्पतालपमा कार्यरत स्टाफ नर्स पाँचाैँ तहकी स्थायी कर्मचारी हुन् । निजामती किताबखानाको कर्मचारी संकेत नम्बर २२२८४८ रहेकी उनी बिएन अध्ययनका लागि तलबी बिदामा नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत हाल चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत छिन् । सरकारी तलबसहित छात्रवृत्ति अध्यन बिदा पाएकी उनी नेकपा एमालेको भ्रातृसंस्था एमाले अखिलको तर्फबाट चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवार बनेकी छन् ।

यस्तै, दिपिका धिताल रुकुम पूर्व जिल्ला अस्पतालमा कार्यरत स्थायी स्टाफ नर्स हुन् । पाँचौँ तहकी धितालको निजामती किताबखानाको क स नं २२१०२४ हो । उनी पनि तलबी अध्ययन बिदामा सरकारी छात्रवृत्तिअन्तर्गत बिएन अध्ययनको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरामा छिन् । उनी अखिलको तर्फबाट चैत ५ गते हुने स्ववियु निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार बनेकी छन् ।

यी दुई सरकारी कर्मचारी पार्टीको भ्रातृसंस्था एमाले अखिलको तर्फबाट स्ववियुको उम्मेदवार बन्न नमिल्ने दाबीसहित नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघका तर्फबाट सभापतिको उम्मेदवार अनुष्ठा चापागाईं र कोषाध्यक्षको उम्मेदवार कृष्टिना कायस्थले आपत्ति जनाउँदा बेवास्ता गरिएपछि अदालतमा रिट जाने तयारी भैरहेको बताएका छन् ।

दाबी विरोधका सम्बन्धमा निर्वाचन समिति संयोजक शारदा शर्मासँग प्रतिक्रिया लिँदा उनीहरू सरकारी कर्मचारी हुन् भन्ने थाहा नभएको जवाफ दिइन् । थपिन्, ‘माथिको निर्देशनबमोजिम अञ्जना अधिकारी र दिपिका धितालको उम्मेदवारी कायम गरियो ।’ जानकारहरू भन्छन्– स्थायी सरकारी कर्मचारीले आफ्नो पेशागत संगठनबाहेक अन्यत्र चुनाव लड्न मिल्दैन ।


 

टिप्पणीहरू