यो वर्ष पनि कैलाश यात्रा कष्टकर

यो वर्ष पनि कैलाश यात्रा कष्टकर

भारतको कुमाउँ मण्डल विकास निगमको व्यवस्थापनमा सञ्चालन हुँदै आएको पवित्र कैलाश–मानसरोवर यात्रा यसपटक पनि सुचारु हुने सम्भावना न्यून छ । कोभिड महामारीका कारण सन् २०२० देखि यात्रा बन्द छ । अतिक्रमित नेपाली भूमि गुञ्जी, कालापानी हुँदै लिपुलेक भञ्ज्याङ भएर कैलाश यात्रा सञ्चालन गरिँदै आएको थियो । 

कुमाउँ मण्डल विकास निगमका पर्यटन विकास अधिकारी बच्चीराम अर्यालले मानसरोवर यात्रा सञ्चालन हुने आश नरहेको बताए । जनवरीमा यात्रा बुकिङ हुने गरेकामा यो वर्ष यसबारे कुनै जानकारीसमेत प्राप्त नभएको उनको भनाइ छ । 

भारतीय पत्रिका हिन्दुस्तान दैनिकका अनुसार पिथौरागढ जिल्लाको डिएम रिना जोशीले केन्द्र सरकारबाट कुनै जानकारी प्राप्त नभएको बताएकी छन् । धारचुला तहसिल क्षेत्र भएर कैलाश यात्रा सञ्चालन गरिन्छ । भारतको प्रशासनिक नियन्त्रणमा रहेको गुञ्जी, कालापानी र लिपुलेक क्षेत्र भएर कैलाशयात्री चीनको तिब्बतस्थित पवित्र धाम कैलाश मानसरोवरको यात्रा गर्छन् । 

भारतले धारचुलादेखि लिपुलेक नजिकको नाभिढाङसम्म सडक निर्माण गरिरहेको छ । ट्र्याक चार वर्षअघि नै खोलिएको छ भने अहिले सडक सुधार र कालोपत्रको काम भइरहेको छ । कैलाश मानसरोवर यात्रीलाई कालापानी–नाभिढाङसम्म गाडीमा पु¥याइन्छ भने १७ हजार फिट उचाइको लिपुलेक पास गरेपछि चिनियाँ क्षेत्रमा पनि गाडीको सुविधा उपलब्ध हुन्छ । 

हरेक वर्ष मेदेखि सेप्टेम्बर अन्तिम हप्तासम्म कैलाश मानसरोवर यात्रा सञ्चालन हुने गर्छ । तर, सन् २०२० देखि लगातार तीन वर्षसम्म यात्रा रोकिएको छ । लिपुलेक पासको नाका कोभिड महामारीका कारण बन्द रहँदै आएको छ । 

कैलाशका निम्ति हरेक वर्ष १८ वटा टोली (दल) को भ्रमण गराइन्छ । टोलीमा २५ देखि ६० जना सहभागी हुन्छन् । एक वर्षमा ८ सय तीर्थयात्री कैलाश मानसरोवर जाने गरेका थिए । यसक्रममा बर्सेनि ४ सय ८० जना स्थानीय बासिन्दाले प्रत्यक्ष रोजगारीको अवसर पाउने गरेको तथ्यांक छ । 

लिपुलेक नाका भएर सन् १९६० को दशकसम्म हिन्दु तीर्थयात्री बिनाअनुमति कैलाश मानसरोवरको यात्रा गर्थे । धारचुलाबाट पैदल यात्रा गरेर तिब्बतको कैलाश मानसरोवर यात्रा गर्न कुनै पनि देशको अनुमति लिनुपर्ने अवस्था थिएन । सन् १९६२ को भारत–चीन युद्धपछि सन् १९८१ सम्म लिपुलेक नाका सञ्चालन हुन नसकेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । 

पछिल्लो समय लिपुलेक नाका भएर कैलाश मानसरोवर यात्राका साथै भारत र चीनबीच वस्तु व्यापार पनि हुँदै आएको छ । भारतबाट खाद्यान्न र भाँडावर्तन चीनको ताक्लाकोट बजारमा पु¥याइन्छ भने ताक्लाकोटबाट ऊनी कपडा र फेन्सी सामान भारत भित्र्याइने गरेको छ । 

 

टिप्पणीहरू