विदेशी लगानी भित्र्याउन उद्योग मन्त्रालयमा छुट्टै डेस्क

विदेशी लगानी भित्र्याउन उद्योग मन्त्रालयमा छुट्टै डेस्क

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रत्यक्ष वैदेशिक लगानीका कम्पनी स्थापनाको निम्ति छुट्टै डेस्कको व्यवस्था मिलाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत सातादेखि प्रत्यक्ष वैदेशिक लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको जानकारी दिइएको छ । 

उक्त डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवम् सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी दर्ता भएका कम्पनीका काममा एकरुपता हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । 

रजिष्ट्रार महेश बरालका अनुसार नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिका खेल्ने अपेक्षासहित उक्त व्यवस्था मिलाइएको हो । ‘उक्त डेस्कले कम्पनी दर्ताको प्रक्रियालाई छिटो र छरितो तरिकाले पूरा गर्ने र सम्बन्धित कम्पनीले प्रबन्धपत्र तथा नियमावली तयार गरेपछि कम्पनी दर्ताका लागि सहजीकरण हुने विश्वास लिइएको छ,’ उनले भने ।

कार्यालयले डेस्क स्थापनापछि प्रत्यक्ष विदेशी लगानीका कम्पनी दर्ता एवम् विदेशी कम्पनीको शाखा र सम्पर्क कार्यालय दर्ताको कार्य १० दिनभित्र सम्पन्न हुने जानकारी गराएको छ । साथै, अनलाइनमार्फत आफू सम्बद्ध कम्पनीको विवरण प्रविष्ट गर्दा प्रत्यक्ष विदेशी लगानी कम्पनी (शाखा वा सम्पर्क कार्यालय समेत) भएको मेन्यु छनौट गरी विवरण पेश गर्नुपर्ने छ ।

यसरी पेश भएका निवेदनको अलग्गै सूची तयार हुने र सम्बन्धित डेस्कले शीघ्र जानकारी गराउने प्रबन्ध मिलाइएको बताइएको छ ।

टिप्पणीहरू