राष्ट्रपति र उपराष्ट्रपतिमा यसरी सहमति भएको माधव नेपालको खुलासा

राष्ट्रपति र उपराष्ट्रपतिमा यसरी सहमति भएको माधव नेपालको खुलासा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन जोगाउन आफूले त्याग गरेर रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन भूमिका खेलेको बताउनुभएको छ ।

संविधान र परिवर्तनका पक्षधर शक्तिहरु एकतावध्द हुनुपर्ने आवश्यकता महसुस गरेर आफैँ राष्ट्रपति हुनुपर्ने अडान नलिएको उहाँले दावी गर्नुभयो । अध्यक्ष नेपालले गठबन्धनबाट साझा उम्मेदवार बनाउनेमा आफ्नो ध्यान गएको र त्यसका लागि रामचन्द्र पौडेलका नाममा सहमति जुटाएको उल्लेख गर्नुभयो । 

आलोकनगस्थित बुध्दपार्टी प्यालेसमा पार्टीनिकट पेशागत महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'महत्त्वपूर्ण विषय राष्ट्रपति चयनकाे थियो । त्यो पदमा रामचन्द्र पौडेल जाने कि माधवकुमार नेपाल जाने भन्ने ठूलो बहस र छलफल चल्याे । तर,मैले त्यसलाई ठूलो मुध्दाको रुपमा चलाउन उचित ठानिन, गठबन्धनबाट साझा उमेदवार रामचन्द्रजीलाई बनाइयो र चयन पनि गरियाे ।'

अध्यक्ष नेपालले उपरास्ट्रपतिका विषयमा पनि चार दलबीच सहमति भएको र त्यसका आधारमा रामसहायप्रसाद यादवलाई समर्थन गरिएको पनि बताउनुभएको छ । 'मसँग उहाँ (रामसहाय) ले भर्खरै भेटेर जानुभयाे । हामीले चार दलकाे गठबन्धन गरेका छौँ', भन्नुभयो, 'जसपाबाट उपराष्ट्रपति बनाउने विषयमा छलफल गरिएको थियो । तर उहाँहरुले दुई जना उम्मेदवार उठाउनु भएको छ ।' 

गठबन्धनमा भएको समझदारीअनुसार नै राष्ट्रपति र उपराष्ट्रपतिको साझा उम्मेदवार उठाएको भन्दै उहाँले अब प्रधानमन्त्रीले विश्वासको मत लिने र सरकार बिस्तारपछि समाजवाद उन्मुख कार्यक्रम लागू गराउन आफूले पहल गर्ने पनि उल्लेख गर्नुभयो ।
 

टिप्पणीहरू