सचिवलाई सुब्बाको जग्गा सौगात

सचिवलाई सुब्बाको जग्गा सौगात

अमनलाल मोदीले सम्हालेको मन्त्रालयमा हल्ला व्यापक छ, नासुले सचिवलाई घडेरी उपहार दिएको, त्यो पनि लोकन्थलीजस्तो महँगो ठाउँमा । लोकेन्द्रबहादुर चन्दको घरनजिकै करोडौं मूल्य पर्ने जग्गा किनेर संघीय मामिला तथा सामान्य प्रशासनका नासु रामचन्द्र अधिकारी (आरसी)ले पूर्वसचिवलाई उपहार चढाएको चर्चा उत्पातै छ । 

एक दशकदेखि सामान्य प्रशासनको रैथाने कर्मचारी रहेका अधिकारीले आन्तरिक व्यवस्थापन शाखा छाडेर अन्यत्र जानुपरेको छैन । यो खरिद बिक्री हेर्ने मालदार शाखा हो । मासिक हजारमा तलब थाप्ने अधिकारीले कुन स्रोतबाट करोडौं आम्दानी गरे होलान् ? सामान्य प्रशासनकै कर्मचारीका अनुसार रामचन्द्रले आफ्नै जग्गासँग कित्ता जोडिएको जग्गा किनेर एक जना पूर्वसचिव (अहिले संवैधानिक निकायमा छन्) लाई उपहार दिएको बताइन्छ । 

कर्मचारी संगठनको आडमा यसरी अकुत आर्जन गर्ने रामचन्द्र एक्ला पात्र होइनन् । अतिरिक्त आम्दानी, सरुवा, बढुवामा गर्न पाइने खेतीपातीकै लोभले होला १५ वर्षसम्म संगठनको नेतृत्वमा रहेर पनि नअघाएका हरि रावलले माओवादीनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको अध्यक्षमा दोहोरिन भए भरका शक्ति लगाएका ।

पाँच वर्ष महासचिव र सात वर्ष अध्यक्ष गरी १२ वर्षदेखि संगठनमा रहेका रावलको योजनाअनुरूप नै गत माघ २० र २१ गते भैरहवामा महाधिवेशन स्थगित गरियो । यसअघि कार्यतालिकासमेत सार्वजनिक गरिसकिएकोमा आफ्नो पक्षमा माहोल नबनेका कारण हठात् महाअधिवेशन रोकिएको बताइन्छ । निकटस्थ कर्मचारीलाई कमाइधमाइ हुने अड्डामा पदस्थापन गराउँदै आएका रावलले यसअघि पत्नी प्रमिलालाई राहदानी विभागमा राखेका थिए । 

रावलले महालेखा नियन्त्रक कार्यालयका तुल्सी वाग्लेमार्फत लेखा अधिकृत तथा उपसचिवहरूको सरुवामा स्वार्थसिद्ध गरेको संगठनका एक सदस्यले बताए । उनैले सरकारले उपभोग गर्न दिएको बबरमहलको सरकारी जग्गामा भवन ठड्याई क्याफेलाई भाडा लगाएर मासिक ६० हजार उठाउने गरेका छन् । नासु तहका रावलले एक दशकदेखि सहकारी प्रशिक्षण केन्द्र, बानेश्वर छाडेर कतै जानुपरेको छैन । रावलअघि विष्णु पाण्डे, मधुसूदन अधिकारी, रुक्म लामिछाने, मोहनमान स्वाँर, दयाराम भुसाललगायतले संगठन चलाइसकेका छन् । 

उता, कांग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले १२ वर्षदेखि अर्थ मन्त्रालय छाडेका छैनन् । गोपालले उपाध्यक्ष उत्तम कटवाल, उपमहासचिव यज्ञ ओली र युवा सचिव भूपेन्द्र अधिकारीहरूलाई अगाडि सारेर ५०औं लाख रकम संकलन गरेको चर्चा छ । यस्तै, कांग्रेसी कर्मचारीका उपाध्यक्ष उत्तम टेकुस्थित राष्ट्रिय खोप उत्पादन केन्द्रको स्टोर शाखामा कार्यरत छन् । खरदार हुँदा पनि त्यहीँ थिए । बढुवा खानका लागि चार महिना पर्सा पुगे र नासुमा उक्लिएको भोलिपल्टै त्रिपुरेश्वरस्थित सोही कार्यालयमा हाजिर भए ।

यही कार्यालय मात्र ताक्नुको पछाडि प्रयोगशालामा निस्किएको ६ करोड बेरुजुसँग जोडेर हेर्ने गरिएको छ । यता, केदार देवकोटाको बहिर्गमनपछि लेखनाथ कोइराला निजामती कर्मचारी संगठनको अध्यक्ष छन् । लेखापाल (सुब्बा) रहुञ्जेल शान्ति कोष, सरुवा रोग अस्पताल टेकुमा बिताएका कोइरालाले बढुवा भएको एक वर्षमै निजामती अस्पतालतिर सरुवा मिलाएको बताइन्छ ।
 

टिप्पणीहरू