एमाले विद्यार्थीहरुको प्रतिबद्धता : कलेजमा तोडफोड गरिँदैन

एमाले विद्यार्थीहरुको प्रतिबद्धता : कलेजमा तोडफोड गरिँदैन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनलाई लक्षितगरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । अनेरास्ववियुका नेताहरुले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

सार्वजनिक प्रतिबद्धता पत्रमा विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजनीजस्ता ध्वंशात्मक क्रियाकलाप नगर्नेलगायत विषय उल्लेख छन् । त्यस्तै, आन्दोलनका नाममा हुने पदाधिकारी, प्रध्यापक, कर्मचारीमाथि व्यक्तिगत आक्रमण तथा दुर्व्यवहार नगर्ने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने कुरामा पनि अखिलले प्रतिबद्धता जनाएको छ ।

अनेरास्ववियुले स्ववियु चुनावका लागि ‘निःशुल्क शिक्षा, स्वास्थ्य, दिगो स्वःरोजगारसहितको समृद्ध नेपाल निर्माण हाम्रो अठोट, प्राज्ञिक उन्नयन र युवा वर्गको सबल नेतृत्वका लागि अनेरास्ववियुलाई भोट’ भन्ने मूल नारासमेत अघि सारेको छ । शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र निःशुल्क शिक्षाको निम्ति आवश्यक नीति तर्जुमा गर्न पहल गर्ने पनि उसको प्रतिबद्धता छ । 

त्यस्तै, सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठूला आंगिक क्याम्पसलाई स्वायत्त विश्वविद्यालयका रुपमा स्थापना गर्न पहल गर्ने पनि सार्वजनिक प्रतिबद्धतापत्रमा उल्लेख छ । साथै, ७७ वटै जिल्लामा कम्तीमा एउटा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस स्थापनाको निम्ति पहल गरिने उक्त संगठनको दाबी छ ।

यसैगरी, अनिवार्य र निःशुल्क माध्यमिक शिक्षा, सस्तो, सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षा, अनुसन्धानका विद्यार्थीलाई अनुदान, आधुनिक ल्याब, प्रविधिमैत्री आधुनिक पूर्वाधारलगायत विषयलाई समेत प्राथमिकतामा राखिएको छ । 

अनेरास्ववियुले विद्यार्थी कल्याणको निम्ति प्रत्येक आंगिक क्याम्पसमा आकस्मिक प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्ने, बहालमा बस्ने विद्यार्थीलाई विद्युत महशुलमा २५ प्रतिशतसम्म निःशुल्क प्रयोग गर्न पाउने छुटको व्यवस्था गर्नसमेत पहल गर्ने जनाएको छ ।
 

टिप्पणीहरू