निर्वाचन आयोगले भन्यो - उपराष्ट्रपति संविधानको धारा ७० अनुसार

निर्वाचन आयोगले भन्यो - उपराष्ट्रपति संविधानको धारा ७० अनुसार

निर्वाचन आयोगले आँउदो चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि महिला वा फरक समुदायका उम्मेदवारको मात्रै मनोनयन दर्ता हुने प्रष्ट पारेको छ । आज बिहान बसेको आयोगका पदाधिकारीहरुको बैठकले संविधानको धारा ७० अनुसार उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । 

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक लिङ्ग  वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्ने उल्लेख छ । उक्त धारमा ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्नेछ’ भनिएको छ ।

राष्ट्रपति पदमा खस आर्य समुदायबाट पुरुष उमेद्वार रामचन्द्र पौडेल निर्वाचित भैसकेका छन् । संविधानको व्यवस्था अनुसार उपराष्ट्रपतिमा महिला वा खस आर्य बाहेकको समुदायबाट मात्रै उम्मेदवारी मनोनयन गर्नुपर्ने हुन्छ । आयोगले संविधानको यहि व्यवस्था स्मरण गराउंदै उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्दा ध्यान दिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । 

त्यस्तै, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ‘यस दफाबमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदको लागि उम्मेदवार मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ’ भन्ने व्यवस्था पनि आयोगले स्मरण गराएको छ । 

आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ,‘राष्ट्रपति पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी, जनजाति, मधेशी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।’

उपराष्ट्रपति निर्वाचनका लागि भोलि मनोनय नपत्र दर्ता गरिँदैछ ।
 

टिप्पणीहरू