पाल्पाका १९ ठाउँमा एमसीसीको टावर बन्ने

पाल्पाका १९ ठाउँमा एमसीसीको टावर बन्ने

एमसीसी परियोजनाअन्तर्गत निर्माण हुने विद्युत प्रसारण आयोजनाका लागि पाल्पाको १९ स्थानमा जग्गा प्राप्तिको प्रक्रिया थालिएको छ ।  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए)ले जग्गा प्राप्तिको काम अघि बढाउन लागेको हो। 

एमसिएले आज एक सूचना प्रकाशित गर्दै पाल्पा जिल्लाभित्र पर्ने विद्युत प्रसारण लाइनको टावर निर्माण प्रयोजनाका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको जनाएको छ । यसका लागि विभिन्न नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरुमा पर्ने जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ (१) अनुसार सम्बन्धित निकायलाई जानकारी गराएको सूचनामा उल्लेख छ । 

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नापजाँच गर्ने, सर्वोक्षण गर्ने, सौध छुट्याउने, किस्ता गाड्ने प्रयोजनाको लागि ऐ, दफाको उपदफा २ बमोजिम सूचना जारी भएको तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने समेत जानकारी दिइएको छ । 

साथै, यही सन्दर्भमा सोही ऐनको दफा १३ अनुसार पाल्पा जिल्ला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको बताइएको छ । जसअन्तर्गत पाल्पाको रामपुर नगरपालिकाको-१ देखि ४ सम्मका सात ठाउँका जग्गामा टावर निर्माण हुने छ ।

त्यस्तै, निस्दी गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका १२ ठाउँमा टावर निर्माण गरिने छ । रामपुर र निस्दीका गाडाकोट, अचले, ज्यामिरे, गन्धा, दर्छालगायतका ठाउँमा टावर निर्माण गर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू