राष्ट्रपति चुनावबारे सल्लाह गर्न राजावादीहरु जुट्दै

राष्ट्रपति चुनावबारे सल्लाह गर्न राजावादीहरु जुट्दै

राजतन्त्र फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आवश्यक निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो बैठक बस्न लागेको छ । 

पर्सी बिहीबार हुने राष्ट्रपति निर्वाचनमा काँग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेल कांग्रेस, माओवादीसहित आठ दलको तर्फबाट अघि सारिएका साझा उम्मेदवार हुन् भने नेम्वाङलाई आफ्नै पार्टी एमालेबाहेक अन्य दलको समर्थन जुटिसकेको छैन । यस्तो स्थितिमा राप्रपाले भने कसलाई भोट हाल्ने भनेर निर्णय गर्न सकेको छैन । 

हिन्दु राष्ट्र र राजतन्त्रको पक्षधर भए पनि राप्रपाको केपी ओलीसँग निकटता छ । तर,एमाले उम्मेदवार नेम्वाङले जित्ने अवस्था नरहेकाले राप्रपाले निर्णय गर्न नसकेको जानकारहरु बताउँछन् । राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको राप्रपाले  मतदान गर्ने नगर्नेबारे भने केही बोलेको छैन । 

कसलाई मत दिने भन्ने विषयमा आवश्यक निर्णय लिन आज दिउँसो बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
 

टिप्पणीहरू