बिग्रँदो आर्थिक अवस्थाबारे प्रधानमन्त्रीद्वारा सोधखोज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सुस्त आर्थिक अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा राखिएको छलफलमा सम्बन्धित निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइन्छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराउनुभएको छ । त्यस क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी छलफलमा प्रधानमन्त्रीले बैंक ब्याज, लघुवित्त संस्थाका समस्या, व्यवसायीहरुको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायतका विषयलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्नुभएको हो ।

अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित हुनेछ । यसलाई कसरी समाधान गर्न सकिन्छ, तपाईंहरूको सुझावको अपेक्षा गरेको छु । आवश्यकताअनुसार उच्चस्तरीय आयोग नै बनाउन पनि सकिन्छ ।’

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको छ । अर्थतन्त्रका सूचक सकारात्मक दिशातर्फ अग्रसर रहेको उहाँको भनाइ छ । 
बैठकमा मुख्यसचिव, अर्थ सचिव, उद्योग वाणिज्य महासंघका पदाधिकारी, विभिन्न व्यावसायिक संगठनका प्रतिनिधि, बैंकर एसोसिएसनका प्रतिनिधिलगायतको उपस्थिति थियो । उनीहरुले आफ्ना तर्फबाट धारणा राखेका हुन् ।
 

टिप्पणीहरू