भारतको करोडौं खर्चमा मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवन

भारतको करोडौं खर्चमा मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवन

भारत सरकारको झण्डै तीन करोड रुपैयाँमा मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवन निर्माण गरिएको छ । भारतीय आर्थिक सहयोगमा काठमाडौंमा बनाइएको उक्त कलेजको नवनिर्मित भवन कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ ।

सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेको  उक्त भवनबारे भारतीय सञ्चार माध्यमहरुले प्रमुखताका साथ प्रसार गरेका छन् । इण्डिया न्युज नेटवर्कले लेखेको छ, ‘उक्त भवन निर्माण सम्बन्धी परियोजना नेपाल–भारत विकास सहयोग कार्यक्रमअन्तर्गत भएको हो । कूल लागत २ करोड ८६ लाख ४० हजार रुपैयाँ लागेको छ ।’

भवन हस्तान्तरणको निम्ति आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डे, कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीलगायत उपस्थित थिए । उषाकिरण स्वर्गीय मदन भण्डारीकी सुपुत्री हुन् ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतले यस्तो सहयोग पछिल्लो २० वर्षदेखि गर्दै आएको छ । सन् २००३ बाट शुरु भएको समुदायको विकास सम्बन्धी यस्तो अवधारणाअन्तर्गत ५३५ वटा परियोजनामा लगानी गरिएको छ । तीमध्ये ४७८ वटा निर्माण सम्पन्न भइसकेका छन् ।

दूतावासले मदन भण्डारी कलेजलाई एउटा कलेज बससमेत उपलब्ध गराएको जानकारी दिएको छ ।

टिप्पणीहरू