एमाले अखिलले आज पनि लगायो कठपुतली सरकारको आरोप

एमाले अखिलले आज पनि लगायो कठपुतली सरकारको आरोप

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र नेत्रविक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि प्रदर्शन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कठपुतली भएको आरोप लगाउँदै दुबै विद्यार्थी संगठनले संयुक्त आन्दोलन थालेको बताएका छन् । 

तरकारी र फलफूल परीक्षण नगरी आयात गर्ने सरकारको निर्णय ज्यानमारा भएको उल्लेख गर्दै उनीहरुले त्यसको कडा विरोध गरेका हुन् । विषादीयुक्त तरकारीले जनताको स्वास्थ्यमा गम्भीर असर पार्ने र सरकारले जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाउने उनीहरुको भनाइ छ । 

विरोध कार्यक्रममा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समिक बडाल, उपाध्यक्ष धर्म गिरी, केन्द्रीय सदस्य मदन ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही, उपाध्यक्ष नरेन्द्र विकलगायत करिब पाँच दर्जनको सहभागिता रहेको छ । 

प्रदर्शनकारीहरुले ‘आयातित तरकारीमा विषादी परीक्षण गर’, ‘ज्यानमारा सरकार मुर्दावाद ! कठपुतली सरकार राजीनामा दे !’, ‘नेपाली किसानमाथिको अत्याचार बन्द गर’, ‘किसान मार्न पाँइदैन’, लगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू