सन्दीपको भिसा आयो, आजै यूएई उड्ने

सन्दीपको भिसा आयो, आजै यूएई उड्ने

विदेश जान लागेको यसअघिकाे रोक सर्वोच्च अदालतले खुल्ला गरिदिएपछि क्रिकेटर सन्दिप लामिछानेले यूएई उड्ने भएका छन् ।

यूएईमा जारी जारी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई आजै यूएई पठाउन लागेको हो । क्यानले सन्दीपको नाम खेलाडीको सूचीमा राखिसकेको छ । 

टिमका एक खेलाडी चोटग्रस्त भएपछि उनको नाम हटाएर सन्दीपलाई समावेश गरिएको क्यानले जनाएकाे छ । तर, कसको नाम हटाएको भनेबारे भने खुलाइएको छैन ।

कुनै पनि श्रृंखला चलिरहेका बेला बीचैमा खेलाडी घाइते भएमा रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्ने व्यवस्था छ । सोही कारण नेपाली टिमका मुख्य खेलाडी सन्दीपलाई आइसीसीसँग समन्वय गरेर क्यानले यूएई पठाउन लागेको  क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए । 

सोमबारदेखि शुरु भएको त्रिकोणात्मक शृंखलामा घरेलु टोली यूएईसँगै नेपाल र पपुना न्युगिनी सहभागी छन् । नेपालले भोली यूएईसँग खेल्दैछ । नेपालमै भएको अघिल्लो शृंखलामा सबै (चारवटै) खेल जितेको नेपाल लामिछानेको आगमनसँग थप बलियो हुने अपेक्षा गरिएको छ ।
 

टिप्पणीहरू