राष्ट्रपतिका उम्मेदवारलाई आचारसंहिता लाग्ने, चुनावी खर्चको सीमा तोकियो

राष्ट्रपतिका उम्मेदवारलाई आचारसंहिता लाग्ने, चुनावी खर्चको सीमा तोकियो

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका उम्मेदवारको चुनावी खर्चको सीमा निर्धारण गरेको छ । आयोगले उम्मेदवारले अधिकतम चार लाख रुपैयाँ खर्च गर्न पाउनेगरी सीमा तोकेको हो । 

फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यस्तै, सवारी साधनमा एक लाख, इन्धनमा २० हजार, प्रचारप्रसार सामग्रीमा २० हजार, ढुवानीमा १५ हजार रुपैयाँसम्म खर्च गर्न सकिने आयोगले जनाएको छ । गोष्ठी र अन्तरक्रिया कार्यक्रमका लागि आयोगले एक लाख रुपैयाँ कायम गरेको छ । 

छापा एवम् विद्युतीय माध्यमबाट गरिने प्रचारप्रसारका निम्ति २० हजार रुपैयाँ निर्धारण गरिएको छ । यता, आयोगले कार्यालय सञ्चालनका लागि ६० हजार र प्रतिनिधि परिचालनका लागि ४० हजार रुपैयाँ तोकेको छ । विविध विषयमा उम्मेदवारले २४ हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । 

निर्वाचनको नतिजा घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने आयोगले स्पष्ट पारेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता भोलिदेखि लागू हुँदैछ । भोलिदेखि ५ चैतसम्म आचारसंहिता लाग्ने भएपनि उम्मेदवारहरुले प्रचार प्रसार गर्न भने पाउनेछन् । तर, त्यसका लागि तोकिएको खर्चको सीमामा रहनुपर्ने हुन्छ ।  

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । उपराष्ट्रपति पदको उम्मेदवारी मनोनयन दर्ताको मिति भने फागुन २७ गतेका लागि तोकिएको छ ।

टिप्पणीहरू