बालुवाटारको बैठकमा एलिजा गौतम

बालुवाटारको बैठकमा एलिजा गौतम

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक बसेको छ । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रपतिका उम्मेदवार रहनुभएका काँगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी महासचिव देव गुरुङ, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको पनि बैठकमा सहभागिता थियो । उन्मुक्ति पार्टीमा केही दिनअघि प्रवेश गरेकी कलाकार तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम पनि बैठकमा सहभागी भएकी हुन् । बैठकमा गौतमलाई लिएर गएकी रञ्जिता सोफामा पनि सँगै बसेका थिए ।

आगामी राष्ट्रपति निर्वाचनको निम्ति हिजो उम्मेदवारी दर्तापछि आठ दलीय गठबन्धनको बैठक बसेको यो नै पहिलो पटक हो । ती दलबीच शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकपछि गठबन्धन बनाउने सहमति भएको थियो । आजको बैठकले राष्ट्रपति निर्वाचनको निम्ति कार्यदल गठन गरेको छ । काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेको बताइएको छ । 

कार्यदलका सदस्यले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।  बैठकले फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय समेत गरेको छ ।

टिप्पणीहरू