बालुवाटारबाट निस्केपछि एमाले अध्यक्ष र उपाध्यक्षबीच छलफल

बालुवाटारबाट निस्केपछि एमाले अध्यक्ष र उपाध्यक्षबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो कुराकानीपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङसँग छलफल गर्नुभएको छ । अध्यक्ष र उपाध्यक्षबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्यान्ह भेटघाट भएको हो ।

त्यसअघि अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग बालुवाटारमा झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको थियो । कुराकानीमा मूलतः राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भएको बताइन्छ । उहाँहरुबीच पछिल्लो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेपछि भेटवार्ता भएको हो । अध्यक्ष नेपालले भने आइतबार बेलुकी बाँसबारीमा एमाले अध्यक्षसँग र सोमबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो । 

अध्यक्षद्वय ओली र नेपालबीच चार घण्टा लामो कुराकानी भएको बताइन्छ । यसबीचमा आइतबार राति बालुवाटारमा प्रधानमन्त्रीसँग नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस नेताहरुले राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे लामो छलफल गरेका थिए ।

टिप्पणीहरू