हराएका कर्मचारी खोज्दै प्रहरी, सात दिनभित्र हाजिर नभए कारवाही गर्ने

हराएका कर्मचारी खोज्दै प्रहरी, सात दिनभित्र हाजिर नभए कारवाही गर्ने

तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयको कानून शाखाले ९ जना प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन समेत निर्देशन दिएको छ । 

उनीहरु लामो समयदेखि आफ्नो कार्यक्षेत्रमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको भन्दै प्रहरी मुख्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ । सूचनामा नेपाल प्रहरी सशस्त्र प्रहरी गणनं. १ गुल्म नं. ३ नक्सालका रोशन खड्का, प्रहरी चौकी पिस्कर, सिन्धुपाल्चोकका महेश दनुवार, १ नं. प्रदेश प्रहरी गण, विराटनगरका शयान्टु श्रेष्ठ, प्रहरी वृत्त कीर्तिपुर, काठमाडौँका सुशन मगर र डिलबहादुर खड्का गैरहाजिर रहेको उल्लेख छ । 

त्यस्तै, प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौँका विनोद कटुवाल, काठमाडौँ उपत्यका प्रहरी सशस्त्र प्रहरी गणनं. २ गुल्म नं. ३, महाराजगञ्जका सन्तोष सुनुवार, प्रमुख जिल्ला अधिकारी निवास गार्ड, रामेछापका असिम तामाङ र सशस्त्र प्रहरी सेना, अर्घाखाँचीका धनु सुनार रहेका छन् । उनीहरुलाई सूचना जारी भएको मितिले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने प्रहरी मुख्यालयको चेतावनी छ ।

‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुने जानकारी गराइन्छ ।’

टिप्पणीहरू