टेलिकमको समस्याप्रति कर्मचारी युनियनले देखायो चासो

टेलिकमको समस्याप्रति कर्मचारी युनियनले देखायो चासो

नेपाल टेलिकमको नेटवर्कमा बारम्बार समस्या देखिएपछि संस्थामा क्रियाशील युनियनहरुले ध्यानाकर्षण भएको बताएका छन् । 

गत माघ ३ गतेदेखि एक बारम्बार एउटै प्रकृतिको समस्या देखिएको भन्दै टेलिकममा क्रियाशील युनियनहरुले आपत्ति जनाएका हुन् । 

टेलिकम व्यवस्थापनलाई गम्भीर ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिएकाले सेवाग्राहीहरु मर्कामा परेको युनियनहरुको आरोप छ । सञ्चार सेवा अवरुद्ध भई सेवाग्राहीहरुले भोग्नुपरेको सास्ती र कम्पनीले व्यहोरेको क्षतिप्रति युनियनले चासोसमेत व्यक्त गरेको छ ।

‘विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानबिन समिति गठन भई प्रतिवेदन तयार हुने गरेकोमा पछिल्लो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट छानबिन समिति गठन भएकोमा हालसम्म सो प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नगरिनु दुःखद विषय हो’, संयुक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

प्रतिवेदन तयार पारी कार्यान्वयन एवम् दोषीउपर कारबाहीमा तदारुकता नदेखाउनुले कम्पनीको सेवाप्रतिको संवेदनशीलता, जिम्मेवारी र जवाफदेहितामा कमी आएको युनियनको ठहर छ । 

त्यस्तै, गत फागुन ३ र ४ गते सिस्टममा समस्या देखिनुको कारणसमेत खुलाउनुपर्ने युनियनले जनाएको छ । ‘जीएसएम पोस्टपेड मोबाइल’ को ‘बिलिङ’ तयार गरिने दिन सेवाहरुमा समस्या देखिएको सन्दर्भमा कुन सिस्टम र के कारणले समस्या दोहोरिन गएको हो ? कम्पनीले के कति क्षति व्यहोरेको छ ? यो कसको जिम्मेवारी र दायित्वको विषय हो’, युनियनको सोधनी छ ।

युनियनले टेलिकमलाई क्षति पुर्याउने कार्यमा संलग्नलाई कारबाही गर्न जोडदार माग गरेको छ । यस्ता समस्या आगामी दिनमा आउन नदिन ठोस कार्य योजना बनाएर तत्काल लागु गर्न आवश्यक रहेको कर्मचारीहरुको ठम्याई छ ।

टिप्पणीहरू