सिरियामा पठायो चीनले मानवीय सहायता सामाग्री

भूकम्प प्रभावित मुलुक सिरियालाई चीनले मानवीय सहायता प्रदान गरेको छ । शक्तिशाली भूकम्पका कारण हजारौंको ज्यान गएको सिरियाको राजधानी दमास्कसमा हिजो एक टोली मानवीय सहायताका लागि पुगेको छ । 

सिरियाका लागि चिनियाँ राजदूत शि होङवेईले त्यहाँका स्थानीय प्रशासन तथा वातावरण सहायकमन्त्री मोआताज डाउजीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

चीनले ८० टन मेडिकल उपकरणसँगै त्रिपाल, कम्बल, जाडोको निम्ति न्यानो  र खाद्य सामग्री सहयोग गरेको बताइएको छ । सामान हस्तान्तरण गर्दै शिले एकअर्काको दुःखमा सहयोगको निम्ति आफूहरु सँधै अग्रसर रहने बताए । 

‘हजारौं माइल टाढा भए पनि चीन र सिरिया सँधै असल र सच्चा मित्र साबित भएका छन् । यसकारण हामी एक अर्कालाई आवश्यक परेको बेला सँधै सहयोग गर्न तत्पर रहन्छौं’, उनले भने । 

त्यस्तै, उनले भूकम्पबाट भएको जनधनको ठूलो क्षतिलाई मध्यनजर गर्दै चीनले सिरियालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यता, सिरियाका सहायकमन्त्री डाउजीले चीनजस्ता मित्रहरुको सहयोगमा सिरिया छिट्टै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।  

गत माघ २३ गते स्थानीय समअनुसार बिहान ४ बजेको समयमा टर्कीको दक्षिणी भेगलाई केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको थियो । भूकम्पबाट छिमेकी सिरिया पनि उत्तिकै प्रभावित छ । 

भूकम्पमा हालसम्म टर्कीमा ३६ हजार १ सयभन्दा बढीको ज्यान गएको छ भने सिरियामा ५ हजार ८ सय जना मारिएका छन् । त्यसैगरी भौतिक संरचना पनि ध्वस्त भएको छ । यसबीचमा चीनले दुवै मुलुकलाई निकै ठूलो सहयोग गरेको बताइन्छ ।
 

टिप्पणीहरू