रामकथा प्रवचनको विवाद सल्टियो

रामकथा प्रवचनको विवाद सल्टियो

भारतका सन्त मुरारी बापूद्धारा लुम्बिनीमा हुने रामकथा वाचनको विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्ने सहमति भएको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिका भारतीय सन्तबाट प्रवचन गरिने भएपछि त्यसको बिरोधमा केही दिनदेखि निरन्तर प्रदर्शन भइरहेको छ । 

लुम्बिनीमा हिन्दू गुरुबाट प्रवचन हुन लागेको भन्दै विभिन्न बौद्ध समुदाय आबद्ध संघसंस्थाले विरोध गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको रोहबरमा आज लुम्बिनी विकास कोषमा बसेको नेपाल आदिवासी जनजाति महासंघलगायत संघसंस्थाहरुबीच विरोध नगर्ने सहमति भएको बताइएको छ ।

राम कथाको विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरुले संवादका क्रममा राखेका सुझावलाई मध्यनजर गर्दै आयोजकहरुलाई ध्यानाकर्षण गराउने बैठकद्वारा जारी चार बुँदे सहमतिपत्रमा उल्लेख छ । त्यस्तै, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरुमा कोषले बुद्ध धर्म, संघ, दर्शन र परम्पराविपरीत नहुने गरी कार्यविधि बनाउने भएको छ । 

बुद्ध धर्मसँग सम्बन्धित संघसंस्था र सरोकारवालासँग परामर्श र सहमतिमा कार्यविधि बनाउने, लुम्बिनी गुरुयोजनाबमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी बापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ । 

हिजो पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनामा दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारको व्यवस्था मिलाउने, शान्ति खलल गर्ने गरी भएको घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने र विश्व शान्ति क्षेत्र लुम्बिनीमा यो विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्ने प्रतिबद्धता जनाइएको छ । 

सहमति पत्रमा महासंघका तर्फबाट युवराज जिरेल, विमल सारु, पार्वती घर्तीमगर, चित्रलाल तुलाधरले हस्ताक्षर गरेका छन् । त्यसैगरी, कोषको तर्फबाट विश्वराज पौडेल, ढुण्डीराज भट्टराईले पनि सो विषयमा सहमति जनाएका हुन् ।

टिप्पणीहरू