तोडफोडमा उत्रेको भीडलाई सम्झाउँदै गरेका इन्स्पेक्टर नै घाइते

तोडफोडमा उत्रेको भीडलाई सम्झाउँदै गरेका इन्स्पेक्टर नै घाइते

हेटौंडा नजिकै भएको सडक दुर्घटनापछि जम्मा भएको भीडको प्रहारबाट प्रहरी निरीक्षक घाइते भएका छन् । हिजो राति पूर्वपश्चिम राजमार्गको हेटौँडा ९ पशुपतिनगरमा भएको दुर्घटनापछि आक्रोशित भीडले ट्रक तोडफोड गर्न खोजेपछि घटना नियन्त्रण गर्न पुगेका प्रहरी निरीक्षक नै घाइते भएका छन् । 

राति पौने ९ बजे पूर्वबाट हेटौँडा बजारतर्फ आइरहेको ना.१ क ७३७७ नम्बरको ट्रक (डिब्बावाला) को पछाडि हेटौँडा बजारतर्फ आइरहेको मधेश प्रदेश ०३–०२७ प ६२७० नम्बरको स्कुटर ठोकिएको थियो । दुर्घटनामा हेटौँडा ९ बस्ने गोकर्ण गिरी घाइते भएको र हेटौँडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनमा थप उपचारार्थ पठाएपछि आक्रोशित भीडले ट्रक तोडफोड गर्न थालेको प्रहरीले जनाएको छ । 

त्यस क्रममा घटनास्थल नियन्त्रणको निम्ति पुगेको इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली प्रमुख प्रहरी निरीक्षक सुमन बानियाँको बायाँ आँखामाथि चोट लागेको हो । स्थानीय मेडिकलमा चार टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घटनामा संलग्न दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छ । ट्रकको अगाडिको सिसा भीडले ढुंगाले हानेर फुटाएका छ । स्कुटर चालक गिरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको प्रमाणित भएको बताइन्छ ।

टिप्पणीहरू