पोखरा महानगरपालिका पनि निर्णयबाट पछि हट्यो

पोखरा महानगरपालिका पनि निर्णयबाट पछि हट्यो

पोखरा महानगरपालिकाले मुख्य शहरी क्षेत्रका सडक खण्डमा पूर्णतः पार्किङ्ग निषेध गर्ने निर्णय फिर्ता लिएको छ । 

पृथ्वीचोक–सभागृहचोक–न्यूरोड–बिपीचोक–चिप्लेढुङ्गा–महेन्द्रपुल–नयाँबजार खण्डमा सवारी पार्किङ्ग पूर्ण रुपमा निषेध गर्ने निर्णयबाट महानगरपालिका पछि हटेको बताइएको छ । 

सवारी चाप अत्यधिक वृद्धि भई आवागमन र शहरी सौन्दर्यीकरणमा असर परेको भन्दै महानगरले गत माघ १६ गते जारी गरेको सूचनमा व्यस्त सडकमा पार्किङ्ग गर्न नदिने जनाएको थियो । 

महानगरले उक्त निर्णयपछि विभिन्न पेशागत व्यवसायिक संघ, संगठन र स्थानीय नागरिकलगायतले विकल्प नदिई पार्किङ्ग बन्द गराएको भन्दै विरोध गरेका थिए । महानगरले आजदेखि लागु हुने भनेको निर्णय अन्तिम समयमा स्थगित गरेको हो । आज जारी सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि अहिले प्रयोग भइरहेको ठाउँमा पार्किङ खुला गरिएको जानकारी गराएको छ । 

‘सरोकारवाला निकायहरु, पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग छलफलपश्चात् लागु गर्न सुझाव प्राप्त हुन आएकाले हाल व्यवस्थित भएका स्थानहरुलाई खुल्ला गरिँदै अर्को व्यवस्था नभएसम्मका लागि पूर्ववत्अनुसार नै रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू