समायोजनमा परेका कर्मचारीलाई लोकसेवामा उमेर हद नलगाउन सर्वोच्चको आदेश

समायोजनमा परेका कर्मचारीलाई लोकसेवामा उमेर हद नलगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले समायोजनमा परेका कर्मचारीलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनमा उमेर हद नलगाउन अन्तरिम आदेश दिएको छ । 

नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा प्रदेश र स्थानीय तहमा समायोजित भएका कर्मचारीलाई परीक्षामा सहभागी गराउन उमेर हद नलाग्ने आदेश गरेको हो । 

३५ वर्ष उमेर पूरा भएकाले परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरुको वृत्ति विकासमा असर पुगेको उल्लेख गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । लोकसेवाले खोल्ने विज्ञापनहरुमा उम्मेदवार हुन निजामती सेवा ऐन, २०४९ को दफा १० (१) (ग) को (३) बमोजिम उमेर हद नलाग्ने देखिएको सर्वोच्चको ठहर छ । 

आदेशमा भनिएको छ,‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्नु–गराउनु भनि अन्तरिम आदेश जारी गरिदिएको छ ।’

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु निजामती सेवासम्बन्धी ऐनअनुसार समायोजित कर्मचारीहरुको निजामती सेवासंग निरन्तर सम्बन्ध रहने सर्वोच्चको आदेशमा उल्लेख छ ।

टिप्पणीहरू