रविलाई थप कारबाही नभएकोमा क्यान्टिनभित्र आपत्ति

रविलाई थप कारबाही नभएकोमा क्यान्टिनभित्र आपत्ति

हिजो बुधवार नयाँ बानेश्वरस्थित संसद क्यान्टिनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका पुनः नियुक्त सभापति रवि लामिछानेलाई थप कारबाही नगरिएको विषयमा चर्चा चल्यो । 

सर्वोच्च अदालतबाट नागरिकतामा दोषी ठहर भएर राजनीतिक अस्तित्व गुमाएका उनलाई आवश्यक कारबाही नभएकोमा गुनासो गरिएको हो । 

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोका साख्यै भाइ तथा सिराहामा राजपाबाट निर्वाचित सांसद डा. वीरेन्द्र महतोले यसरी असन्तुष्टि जनाएका हुन् । 

रवि प्रकरणमा संसदमा बोल्न चाहे पनि मौका नपाएका उनी कफी पिउँदै साथीसंग आफ्नो कुरा राख्दै थिए । 

उनले भने,‘नेपालमा कानुन सबैको लागि बराबर छैन । कसैले कानुनलाई खेलाउन पाउँछन् त कसैले कानुनलाई थिचेका छन् । रविको ठाँउमा अहिले कोही मधेशी भएको भए,उसलाई गिरफ्तार गरी जेल चलान भइसक्थ्यो । अन्य कानुनी प्रक्रियाहरु लम्बिन्थ्यो, एकपछि अर्को सजाय हुन्थ्यो । विगतमा रातो राहदानी दुरुपयोगमा संविधान सभाका तत्कालीन सभासद्हरु शिवपुजन राय यादव, बिपी यादव,गायत्री साहलगायतले कारबाही भोग्नुपर्यो । फौजदारी मुद्दा खेप्नुपर्यो,निलम्बितसमेत भए ।’

अवैधानिक नागरिकता र दोहोरो राहदानीजस्ता गम्भीर आरोप खेपिरहँदा पनि रविले खुलेआम उपदेश दिँदै फेरि उपप्रधान तथा गृहमन्त्री बन्न बार्गेनिङ गरेकोप्रति डा. वीरेन्द्रले आपत्ति जनाएका छन् । 

साथै, उनले रविलाई उन्मुक्ति दिन त खोजिएको होइन ? भनेर आशंका व्यक्त गरेका छन् ।
 

टिप्पणीहरू