देउवा र प्रचण्डको फोनवार्तालगत्तै ओलीको शीतल निवास दौड

देउवा र प्रचण्डको फोनवार्तालगत्तै ओलीको शीतल निवास दौड

राष्ट्रपति एमालेलाई दिएर आफ्नो दिनगन्ती शुरु गर्ने कि कांग्रेसलाई सघाएर पाँचै वर्ष सरकार चलाउने ! अर्कोतिर गणतन्त्र र संघीयताविरोधी शक्तिलाई बोकेर हिँड्दा राजनीतिक उपलब्धि गुम्ने खतरा ! केपी ओलीले २ पटकसम्म गरेको संसद विघटनको औचित्य स्थापित गर्न फेरि त्यही बाटो समाते के गर्ने ? भावी राष्ट्रपतिमा विभिन्न पात्रको चर्चा भैरहँदा प्रधानमन्त्री प्रचण्ड यस्तै राजनीतिक अप्ठेरोमा जेलिनुभएको छ ।  

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर माओवादीसँग नजिकिने प्रयासमा रहेको नेपाली कांग्रेसले सत्ता गठबन्धनको आयु आगामी राष्ट्रपतिको निर्वाचनसम्मका लागि तोकिदिएको छ । राष्ट्रपति एमालेको पोल्टामा जान नदिन जस्तोसुकै त्याग गर्न तयार भएको कांग्रेसको बुझाइ छ – विगतमा राष्ट्रपतिको भूमिकाले संविधान नै संकटमा पुगेको र त्यसविरुद्ध सडक संघर्ष गरेको नेताका रूपमा प्रधानमन्त्री प्रचण्डले एमाले उम्मेदवारलाई समर्थन गर्दैनन् । त्यही बिन्दुबाट गठबन्धन टुट्ने कांग्रेसको विश्वास हो । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरूसँगको भेटका केही भेद खोलेपछि कांग्रेस नेतामा गठबन्धनको आयु किटान गर्नेसम्मको आत्मविश्वास बढेको बुझ्न कठिन छैन । 

यसअघि राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफैँ राख्न ढिपी कसेर प्रचण्डलाई बिच्क्याउँदा ठूलो पार्टी भएर पनि सबै राजकीय पद गुमाएको कांग्रेसको पहिलो प्राथमिकता आफैंले राष्ट्रपति लिने देखिन्छ । एमालेलाई राष्ट्रपति बुझाएर थप रित्तिनुभन्दा आफूले अघि सारेको पात्रमा प्रचण्डलाई सहमत गराउनु उसको दोस्रो प्रथमिकता हुनेछ । संसदमा जस्तै राष्ट्रपति निर्वाचनमा पनि निर्णायक भोट लिएर बसेको माओवादी जता ढल्कियो त्यतै पल्लाभारी हुने अवस्था रहेकाले प्रचण्डको मुड बुझेर मात्रै थप रणनीति बनाउने कांग्रेसको तयारी छ । त्यसैले कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवारबारे केही बोलेको छैन । 

राष्ट्रपति बन्न असाध्यै रहर गरेका रामचन्द्र पौडेलले प्रचण्ड र माधव नेपाललाई मनाउन अनेकन प्रयास गरे पनि त्यो उपलब्धिमूलक नभएपछि कांग्रेसमा नयाँ पात्रको नाम चर्चामा आएको छ । शान्ति प्रक्रियाको शुरुआती दिनदेखि नै प्रचण्डसँग निकट रहेर काम गरेका कृष्ण सिटौलालाई कांग्रेसले उठाउने तयारी गरेको जानकारहरू बताउँछन् । किनभने यही कार्यकालमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने प्रधानमन्त्री प्रचण्डको प्राथमिकता छ । त्यसका लागि गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सिटौला प्रचण्डको रोजाइमा पर्न सक्ने कांग्रेसको विश्वास हो । प्रचण्डको संकेत पाएरै सभापति देउवाले सिटौलालाई अघि सार्न खोजेको पनि कतिपयले दाबी गरेका छन् । 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाको दूतका रूपमा काम गरेको, दक्षिणसँग निकटता भएको, ज्ञानेन्द्रलाई शीतल निवासबाट बाहिर ल्याएर गणतन्त्रको व्यवस्थापन गरेको हिसाबले पनि माओवादी पंक्तिले तुलनात्मक रूपमा सिटौलालाई स्वीकार गर्ने देखिन्छ । तर, एमालेको साथमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले राष्ट्रपतिको चुनावमा कस्तो पोजिसन लिनुहुन्छ अहिले अनुमान मात्र गर्न सकिन्छ । विगतमा ओलीबाट पटक–पटक धोका खाएका कारण एमालेकै उम्मेदवारलाई समर्थन गर्दा आफ्नो दिनगन्ती शुरु हुने खतरा प्रचण्डजस्तो राजनीतिक खेलाडीले नबुझ्ने कुरा भएन । भनिन्छ, त्यसमा रवि लामिछानेलाई गृहमन्त्री बनाउन ओलीले नै बल गरेको बुझेपछि उहाँ थप झस्किनुभएको छ । प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने – रविले गृहमन्त्री मागेको थिएन, ओलीले नै रक्षा मै राख्छु, तिमी गृह नछोड भनेको हो । त्यसो गर्नुको कारण प्रधानमन्त्रीलाई अप्ठेरो पार्न खोजेको हो कि भन्ने हाम्रो विश्लेषण छ । राष्ट्रपति एमालेलाई दिन नसकिने तर्क जोड्दै उनले थप प्रष्ट पारे – राष्ट्रपति पनि एमालेलाई जिम्मा लगाउँदा शक्ति सन्तुलन गुम्ने र आफैँ फसिने अवस्था नआउला भन्न सकिन्न । एकातिर गृहमन्त्रीले कुनै पनि बेला ‘स्टन्ट’ गर्न सक्छ, अर्कोतिर राष्ट्रपति एमालेले लिंदा आफ्नै पद धरापमा पर्ने खतरा छ । यस्तो अवस्थामा अध्यक्षले सोचेर कदम चाल्नुहुन्छ ।’

यता, सभामुख हात पारिसक्नुभएका ओलीको भने अर्कै दाउ देखिन्छ । सकेसम्म प्रचण्डलाई हात लिएरै राष्ट्रपति आफ्नो पोल्टामा पार्ने पहिलो प्राथमिकता हुन सक्छ । त्यो सम्भव नहुँदा राप्रपा र रास्वपा फुटाएर एउटा–एउटा तत्वलाई एमालेमा मर्ज गराउने र ठूलो पार्टीको हैसियतले आफैँ प्रधानमन्त्री हुने सम्भावित दोस्रो प्राथमिकता हो । त्यो अवस्थामा सरकार, सभामुख र राष्ट्रपति तीन वटै मुख्य पद एमालेको भागमा जान्छ । कम महत्वको हुँदाहुँदै रक्षा मन्त्रालय आफूले राखेको एमालेले आफ्नो पकेट पात्रलाई गृहमन्त्री बनाएको छ । राष्ट्रियसभा अध्यक्ष पनि एमालेकै । त्यस्तो अवस्थामा कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नुको राजनैतिक औचित्य स्थापित गराउन प्रचण्डमाथि थप चुनौती बढ्ने छ । 

अर्कोतिर, आलोपालो सहमति कार्यान्वयन हुँदा अढाई वर्षपछि केपीलाई प्रधानमन्त्री सरक्कै छाडिदिनुपर्ने हुन्छ । त्यतिबेला माओवादीसँग मुख्य पद केही रहँदैन । संगसंगै ओली नेतृत्वको सरकार चुनावी सरकारसमेत हुने भएकाले अढाई वर्ष आफूले गरेको कामको जस पनि एमालेले लिने र आगामी चुनावमा अहिलेको भन्दा खराब नतिजा माओवादीले व्यहोर्नुपर्ने हुनसक्छ । प्रचण्डले देखेको सबैभन्दा ठूलो खतरा चैं – अघिलोचोटी चुनावको मुखमा रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, ज्वालाकुमारी, मणि थापा, प्रभु साहहरूलाई चोरेर आफ्नो पार्टी रित्याइदिएका ओलीले त्यस्तै गरे के गर्ने !  

चुनावअघि माधव नेपाल र प्रचण्डबाहेकको एकता भन्नुभएका ओलीको घोषित नीति नै हो, माओवादी र एकीकृत समाजवादी रित्याउने । चुनावको परिणाम भटाभट आइरहेका बेला जब समाजवादीको भोट बढ्थ्यो उहाँमा छटपटी देखिन्थ्यो । त्यसैकारण धाँधली भएको भनिएको स्याङ्जा र बाजुरामा उहाँले नै निर्वाचन आयोगलाई भनेर चुनाव दोहो¥याउन नदिएको कतिपयले दावी गर्ने गरेका छन् । दोहो¥याएर चुनाव हुँदा कांग्रेसले समानुपातिक भोट समाजवादीलाई हाल्दिने र राष्ट्रिय दल बनाइदिने अनुमान गर्नुभएका ओलीले निर्वाचन आयुक्तहरुलाई भनेर आफ्नो दुई सीट गुमे पनि मतगणना शुरु गर्न लगाएको चर्चा त्यतिबेलै थियो । 

भावी राष्ट्रपति आफ्नो भागमा पार्न नेताहरू कस्सिएर लागेपनि चुनाव कहिले हुन्छ अझै निधो छैन । संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष भनेको छ । संविधानअनुसार हुँदा फागुन २८ गतेभित्र मुलुकले नयाँ राष्ट्रपति पाइसक्नु पर्छ । तर, संविधान र ऐनको व्यवस्था बाझिएकाले सरकारले निर्वाचनको मिति तोक्न सकेको छैन भने निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन अप्ठेरो परेको छ । निर्वाचन प्रक्रिया शुरु गर्न पहिले ऐन संशोधन गर्नुपर्ने हुन्छ । हाउसमा विधेयक लगी ऐन बनाएर चुनाव गर्न कम्तिमा ५÷६ महिना लाग्ने देखिन्छ । त्यसो हुँदा वर्तमान राष्ट्रपति विद्या भण्डारीले अरु केही महिना निरन्तरता पाउने अवस्था रहन्छ । 

यसैबीच राष्ट्रपतिमा माओवादी र कांग्रेस मिल्ने संकेत पाएपछि एमाले अध्यक्षले निर्वाचन आयोगलाई भनेर तत्काल प्रक्रिया रोक्न आग्रह गरेको चर्चा पनि छ । आयोगका एक पदाधिकारीले कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई सूचना दिएपछि देउवाले तत्काल प्रधानमन्त्री प्रचण्डसँग सोधखोज गर्नुभएको बताइन्छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले सोमबार आयोगका पदाधिकारीलाई बोलाएर राष्ट्रपति निर्वाचनबारे छलफल गर्नुभयो । ‘स्याल कराउनु, बाख्रा हराउनु’ भनेजस्तै कांग्रेसको आग्रहमा प्रधानमन्त्रीले निर्वाचन प्रक्रियाबारे आयोगसँग परामर्श गरेको केही घण्टामै ओली भने शीतल निवास पुग्नुभयो । साँझ ७ बजे त्यहाँ पुग्नुभएका उहाँ राष्ट्रपति विद्या भण्डारीसँग अढाई घण्टा कुरा गरेर साढे ९ तिर बाहिरिनुभएको थियो । भोलिपल्ट त फेरि बालुवाटार गैहाल्नुभयो । 
 

टिप्पणीहरू