गुरु सन्किएपछि चेलीहरूको चिरबिर

गुरु सन्किएपछि चेलीहरूको चिरबिर

मान्छेहरू किन मर्यादा भुल्छन् ? शिक्षकले समेत सीमा नाघेर विद्यार्थी समाउँछन् भने छोरीचेली कहाँ र कोबाट सुरक्षित हुने ? चितवनको भरतपुरस्थित अरोमा कलेजका शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना नसेलाउँदै नारायणीपारि गैैंडाकोट आधारभूत विद्यालयमा पढ्ने कलिला शिष्यसमेत पीडित भएको घटना बाहिरियो । अरोमा कलेजका कम्प्युटर शिक्षक रामकृष्ण सुवेदीले कक्षा ११ मा पढ्ने एउटी छात्रालाई गत मंसिर २८ गते ल्याबमा कम्प्युटर सिकाउने क्रममा संवेदनशील अंगहरूमा छुँदै यौन दुव्र्यवहार गरेको प्रकरण बाहिरिएपछि कलेजमा ठूलै हंगामा मच्चिएको छ ।

शिक्षक सुवेदीको दूराचारबारे विद्यार्थीले पुस ३ गते जानकारी गराए पनि कलेजले कारबाही नगरेको भन्दै आक्रोशित विद्यार्थीले पर्सिपल्ट आगजनी र तोडफोडसमेत गरेका थिए । आरोपित शिक्षकलाई प्रहरीले सोही मंगलबार पक्राउ गरेको थियो । कारबाही माग गर्दै विद्यार्थीले बुधवार जिल्ला प्रहरी कार्यालयअगाडि पनि प्रदर्शन गरेका थिए । शिक्षक सुवेदीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा तीनवटा जाहेरी दर्ता भएको बुझिन्छ । बाल यौन दुव्र्यवहार मुद्दामा शिक्षक चितवन प्रहरीको हिरासतमा रहेकै बेला गैंडाकोट–८ स्थित विजय आधारभूत विद्यालयका शिक्षक पनि यौन कसुरमा एकै ठाउँ थुनिन पुगे । विद्यालय नवलपुरको भए पनि घटना चितवनमा भएको थियो । पुस ९ गते विजय स्कूलले विद्यार्थीलाई पिकनिक खुवाउन भरतपुरको कंकाली डाँडामा लगेको थियो । वनभोजका लागि विद्यार्थीबाट एक–एक हजार रूपैयाँ पनि उठाइएको थियो । पिकनिक स्पटमा प्रिन्सिपलसहित तीनजना शिक्षकले रक्सी धोकेर कलिला छात्राहरूमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै पुस ११ गते विद्यालयमा जम्मा भएर विद्यार्थी–अभिभावकले चर्काे विरोध गरेका थिए । 

विजय आधारभूत विद्यालयका कम्प्युटर शिक्षक कुमार सापकोटा र नेपाली शिक्षक मदन भट्टराईले वनभोजस्थलमा नाचगानको बहानामा कक्षा ७–८ मा पढ्ने १३/१४ वर्षीया छात्राहरूको छाती, पुट्ठा समाउने, काखमा राखेर म्वाइँ खान खोज्नेजस्ता अश्लील हरकत गरेको बताइन्छ । यसैक्रममा प्रिन्सिपल कृष्णप्रसाद सापकोटाबाट पनि छात्रामाथि दुव्र्यवहार भएको विद्यार्थीको आरोप छ । बताइएअनुसार आरोपित शिक्षकले वनभोजस्थलमा केटीहरूलाई नचाएर केटालाई चाहिँ नाच्नबाट रोकेका थिए, बेलुकी बसमा फर्कने बेला पनि उनीहरूले छात्राहरूका संवेदनशील अंग चलाए । बसमा पछाडि बसेका छात्राहरूसँग शिक्षक टाँसिन गएको देखेर विद्यार्थी केटाहरूले ‘सर, हामी यता छौं’ पनि भनेका थिए । शिक्षकको दुव्र्यवहारबारे छात्राहरूले उतिबेलै शिक्षिकाहरूलाई भन्दा ‘तिमीहरूको पनि गल्ती होला !’ भनी उल्टै झपारिएको थियो । ‘यस्तो कुरा बाहिर भन्न हुँदैन’ भन्दै शिक्षिकाहरूले चुप बस्न लगाएको आरोप छ । तर, केटा–केटी विद्यार्थी साथीहरू मिलेर शिक्षकको दुव्र्यवहारविरुद्ध विद्यालयमा आवाज उठाउने सल्लाह गर्दै कोही–कोहीले घरमा आएर अभिभावकलाई पनि सुनाए । आइतबार विद्यालय बिदा भएकाले सोमबार विजय स्कूलका विद्यार्थी, अभिभावक र अन्य स्थानीय सयौंको संख्यामा जम्मा भएर शिक्षकको दुव्र्यवहारविरुद्ध गर्जनेक्रममा आरोपित शिक्षक कुटिए पनि । भीडले सुरक्षार्थ खटिएका प्रहरीमाथि समेत हातपात गरेको बताइन्छ । विजय स्कूलका यी तीनैजना शिक्षक प्रहरी हिरासतमै छन् । उनीहरूमाथि पनि बाल यौन दुव्र्यवहार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । जानकारी रहोस्, भरतपुर बसपार्कमा होटल खोलेर कलिला केटीहरूलाई वेश्यावृत्तिमा लगाउने धादिङ गेष्ट हाउसका सञ्चालक केशव लामिछाने मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि थुनामा गएको पनि डीएसपी पण्डितले बताएका छन् । 
 

टिप्पणीहरू