मीटरब्याजीले दिएको चर्को तनाव : आर्थिकसँगै कतिपयमाथि यौन शोषण

मीटरब्याजीले दिएको चर्को तनाव : आर्थिकसँगै कतिपयमाथि यौन शोषण File Photo

सिराहामा झण्डै एक महिनादेखि मीटरब्याज पीडितहरुको आन्दोलन जारी छ । सुदखोरको आतंक रोक्नुपर्ने माग राख्दै मीटरब्याजविरुद्ध संघर्ष समिति, मधेश प्रदेशको आयोजनामा पीडितहरु निरन्तर प्रदर्शन गरिरहेका छन् । 

सरकारले मीटरब्याज पीडितको समस्या समाधान गर्न कार्यदल बनाए पनि त्यसले प्रभावकारी ढंगबाट काम गर्न नसकेको आरोप पीडितहरुको छ । यसअघि नवलपरासीका मीटरब्याज पीडितहरुले काठमाडौंमा धर्ना दिएका थिए । 

मीटरब्याजमा लिएको ऋणको साँवा र ब्याज चुक्ता गरिसक्दा पनि साहुले जग्गा हड्पेपछि उनीहरु न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव डा. भीष्मकुमार भुसालको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृहका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका महान्यायाधिवक्ता श्यामप्रसाद दाहाल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा र सिआईबीका प्रहरी नायव उपरीक्षक रोशन खड्काको सदस्यतामा कार्यदल बनेको थियो । 

समस्या समाधान गर्न गठित कार्यदलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाइसकेको छ । यद्यपि, उनीहरुको समस्या समाधानमा गृहले त्यसबाहेक अन्य कुनै प्रक्रिया अघि बढाएको छैन । लामो समयदेखि न्यायको माग गरेका पीडितहरुले अनेकौं हण्डर खाइरहेका छन् । सबैभन्दा धेरै मधेश प्रदेश मीटरब्याजको जालोमा फसेको छ । हिमाली र पहाडी जिल्लामा भन्दा मधेशमा यो समस्या धेरै देखिन्छ । 

यहाँ सुदखोरहरुले धेरै गरिब, दलित र निमुखालाई रुवाएका छन् । उनीहरुको उठिबास लगाएका छन् । यसअघि काठमाडौंमा आएर अनशन बसेका उनीहरुलाई सरकारले विभिन्न आश्वासन दिएर फिर्ता पठाएको थियो । तर, समस्या अझै पनि ज्युँका त्युँ छ । भूमाफिया, राजनीतिज्ञ र शिक्षकहरुले मीटरब्याजमा लगानी गर्दै आएको समितिका अध्यक्ष मनोज पासवान बताउँछन् । सिराहामा झण्डै चार सयको संख्यामा पीडित रहेको उनले जानकारी दिए ।

तीमध्ये दुई सय ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेका छन् । मीटरब्याजविरुद्ध जोडतोडका साथ आवाज उठाउँदा पनि स्थानीय निकायले कुनै कदम नचालेको आरोप उनको छ । एकाध मीटरब्याजी कानुनको दायरामा आए पनि अरु खुल्लमखुल्ला हिँडिरहेको उनी गुनासो गर्छन् । मीटरब्याजको रहस्य यसरी बाहिर आउँदा पनि आमनागरिक ठगिने क्रम रोकिएको छैन । 

‘गरिब र विपन्न अवस्थाको बाध्यताको फाइदा उठाएर कानुनको धज्जी उडाउँदै सुदखोरहरुले मनलाग्दी ब्याज असुलेका छन्’, उनले भने,‘हामी मीटरब्याजीहरुको ज्यादती, अमानवीय व्यवहार र आतंक सहन नसकेर सडकमा आएका छौं । सुदखोरहरुको जालोबाट मुक्ति दिलाउन हामी सरकारसँग बिन्ती गर्दछौं ।’ 

मधेश प्रदेश मीटरब्याजग्रस्त हुनुको प्रमुख कारण गरिबी, अशिक्षा र बेरोजगारी भएको बताइन्छ । मधेशी दलित समुदायको अवस्था अन्यको तुलनामा नाजुक छ । उनीहरुसँग न जमिन छ, न कुनै आयस्रोत नै । 

काम पाएमा हातमुख जोर्न सक्छन् । अन्यथा, भोकै हिँड्नुपर्ने बाध्यता उनीहरुका सामुन्ने वर्षौंदेखि छ । ससाना कामका लागि पनि ऋण लिनैपर्ने अवस्था ती विपन्नहरुको छ । विदेश जान, बिरामी पर्दा, कृषि गर्न, विवाहलगायत सामाजिक कार्यको निम्ति ऋण लिने गरेको पाइन्छ । 

जसको ब्याजदर एकदमै उच्च छ । उनीहरुले ऋण लिएका अन्यको अवस्था देखेका छन् तर पनि बाध्यताको अगाडि के नै लाग्दो रहेछ र ? बैंक तथा वित्तीय संस्थाहरुले विपन्न किसान र मजदुरहरुलाई ऋण नदिँदा पनि मीटरब्याजको अवैध धन्दा मौलाएको त्यहाँका सामाजिक क्षेत्रका अगुवाहरु बताउँछन् ।

तर, सुदखोरहरुले भने ती बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा कर्जा पाइरहेको उनीहरुको आरोप छ । बैंकबाट सस्तो ब्याजमा रकम लिएर आफूहरुलाई महँगो ब्याजमा लगाउने उनीहरुको खेल मधेशमा मौलाएको हो । औराही गाउँपालिका–२ की एक महिलाले केही महिनाअघि मीटरब्याजी बेशन यादवसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन् । 

यादवले हाल साँवा र ब्याजसहित दुई करोड रुपैयाँ तिर्नुपर्ने भनेपछि उनी तनावमा देखिएकी हुन् । मीटरब्याजीहरुले रकम तिरिसकेपछि तमसुक नच्यातिदिँदा पीडितहरु थप मर्कामा परेका धेरै घटना पनि छन् । 

पछि सोही तमसुक देखाएर उनीहरुले ऋणीसँग थप रकम असुल्ने गरेका छन् । ‘कागजात देखाएरै यिनीहरुले सोझालाई लुट्ने गरेका छन् । रकम नतिर्ने बताएको केही क्षणमा प्रहरी प्रशासन पुगिहाल्छान् । तमसुक उनीहरुसँग हुन्छ । जताबाट पनि हामी नै फस्ने हो’, एक पीडितले दुःखी हुँदै सुनाए । 

अझ अशिक्षितलाई मीटरब्याजीहरुले सजिलै आफ्नो फन्दामा पार्ने गरेका छन् । कम रकम दिएर बढी रकमको तमसुक बनाउन उनीहरु माहिर देखिएका छन् । 

असह्य तनाव दिँदै मीटरब्याजी 

मीटरब्याजमा पैसा लिएकाहरु अधिकांशको उठीबास लागेको छ । कतिपय गाउँ छाडेर भागेका छन् । धेरैले आत्महत्याको अत्यासलाग्दो बाटो रोजेका छन् । मीटरब्याजीहरुले खुलमखुल्ला आफूहरुको बास हड्प्ने भन्दै धम्काउने गरेको पीडितहरुको भनाइ छ ।

किसान र मजदुर मीटरब्याजबाट सबैभन्दा धेरै पीडित भएको अध्यक्ष पासवानको बुझाइ छ । विदेश गएका कतिपय स्थानीयका श्रीमतीलाई मीटरब्याजको त्रासमा यौन शोषणसमेत गरिएको उनको भनाइ छ । 

मीटरब्याजीको तनाव सहन नसकेर कतिपयलाई नशाको लत लागेको उनी केही उदाहरण सुनाउँछन् । केहीको घरपरिवार नै तहसनहस भएको बताइन्छ । साथै, मीटरब्याजीहरुले असह्य मानसिक तनाव दिएकाले उक्त डरलाग्दो अवस्था बनेको हो । 

मीटरब्याजीको अवैध सम्पत्ति जफत गर्न माग 

समितिले मीटरब्याजीहरुको अवैध सम्पत्ति जफत गर्न माग गरेको छ । गरिबको उठीबास लगाएर हड्पिएका सम्पत्ति सरकारले जफत गर्नुपर्नेमा समितिले जोड दिएको छ । त्यस्तै, तमसुकको व्यवस्था खारेज गर्न आग्रह गरिएको छ । 

यसअघि लिलाम गरिएका गरिबका जग्गा फिर्ता हुनुपर्ने र मीटरब्याजका कारण आत्महत्या गरेकाको परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग पनि राखिएको छ । 

प्रशासनको एउटै भनाइ : प्राथमिकतामा राखेका छौं 

जिल्ला प्रशासन कार्यालय, सिराहाले मीटरब्याज पीडितको मुद्दालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको ठोकुवा गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले मीटरब्याज पीडितको कुरा सुन्नका लागि छुट्टै शाखाको व्यवस्थापन गरेको बताए । 

पीडितबाट निवेदन लिएर प्रमाण खोज्ने र प्रमाण पुगेमा जिल्ला प्रहरी कार्यालयमा थप छानबिनका लागि लिखितपत्र पठाउने गरेको उनको भनाइ छ । 

यता, मीटरब्याजी र पीडितसँग निरन्तर छलफल गरिरहेको उनको दाबी छ । प्रशासनमा ३१४ जनाको निवेदन परेको उल्लेख गर्दै उनले क्रमिक रुपमा छानबिन हुने जानकारी दिए ।

टिप्पणीहरू