हलाल मासु ख्वाउने होटलको हरिबिजोग

हलाल मासु ख्वाउने होटलको हरिबिजोग

बेरोजगार भइयो, के गर्ने त ? भन्दा अलिअलि लगानी गरेर पनि चल्ने ठाउँमा राम्रै आम्दानी गर्न सकिने होटल व्यवसायमा लाग्ने थुप्रै छन् । बस खानेकुरा पकाउन जाने वा जानेका मान्छे राखे भइगयो । होटल सञ्चालन गर्दा पालना गर्नुपर्ने नियम तथा खाद्य स्वच्छता सम्बन्धी ज्ञान धेरैजसो होटल व्यवसायीलाई छैन । खाने ग्राहकलाई पनि अलिकति मीठो भइदिए प्रायः चल्छ, होटलको किचन र सरसफाइको अवस्था के–कस्तो छ ? गुणस्तरीय वा गुणस्तरहीन कस्ता खाद्यवस्तु कसरी पकाइएको छ ? सितिमिति कसैले ख्याल गर्दैनौं ।

भरतपुर–२ प्रगतिपथमा हलाल मासु बेच्ने बरकाती होटलका सञ्चालक अस्ति अनुगमन टोलीको फेला पर्दा भन्दै थिए, ‘हामीलाई ज्ञान नै भएन ।’ लीलाचोकनजिक बरकाती जामे मस्जिदको छेउमा चलाइएको बरकाती होटलमा चिकेन, बफ, मटन सबै आइटम पकाएर बेचिन्छ । अगाडि रहेको खाने कोठा ठिकै देखिएपनि पछाडि किचनको निरीक्षण गर्दा अत्यन्त फोहोरमय–घिनलाग्दो थियो । 

सँगै चर्पी र दुर्गन्धित नाली रहेको खुला गल्लीमा खुल्लै रुपमा चुल्हो बनाएर खानेकुरा पकाउने गरेको पाइयो । भाँडाकुँडा माझ्ने र खानेकुरा पखाल्ने पनि त्यहीँ । खाना पकाउने भाँडा र कामदारको सरसफाइ पनि राम्रो थिएन । स्टोर पनि गतिलो थिएन, सानो भण्डार कोठामा कामदार सुत्ने ओछ्यान पनि सँगै थियो । फ्रिजिङसमेत खराब पाइयो । सातामा एकपटक हलाल गरेको मासु एक हप्तासम्म बेचिने होटल व्यवसायीले नै बताएका थिए । सामान्यतया माछामासु राख्ने डिपफ्रिजको तापक्रम माइनस १८ डिग्री हुनुपर्छ । तर बरकाती होटलमा मासु राखेको फ्रिजको तापक्रम जाँच्दा माइनस १ देखि प्लस ११ सम्म पाइयो । मासु र दुग्ध पदार्थ एकै ठाउँमा राख्ने गरेको भेटियो । अनुगमन अधिकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले भने, ‘मासु पनि गन्ध आइरहेको थियो ।’ 

कतै ठाउँ नपाएर उक्त दूषित स्थानमा किचन बनाइएको बताउँदै होटल सञ्चालक काशिम मियाले खाद्यव्यवसाय सञ्चालनका नियम, होटलको किचन व्यवस्थापन, खाद्य सुरक्षा तथा स्वच्छताबारे आफूलाई ज्ञान नभएको सजिलैसित बताए । उनको दाइ आसिम मियाको नाममा व्यवसाय दर्ता छ । ‘बेरोजगार भएर हिँड्न त भएन । के गर्ने त ? भन्दा होटल चलाएको’ भन्ने अत्यन्त गैरजिम्मेवार जवाफ कासिमले दिएका थिए । यो सुनेर अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले कड्किएर भने, ‘व्यवसायको नम्र्स (मापदण्डहरु) थाहा नभई व्यवसाय किन गर्ने ? ज्ञान भएन भनेर सेवाग्राहीलाई दूषित, विषाक्त खुवाउने ?’ सहायक प्रजिअलाई चर्काे सुनेर होटलवाला मत्थर भएका थिए । उनीहरुले एकपटक सुध्रिने मौका दिनुस् भन्दै याचना गर्न थाले । 

बताइएअनुसार उक्त होटललाई तीनलाख रुपैयाँसम्म जरिवाना हुन सक्थ्यो, व्यवसायमा ताला पनि लाग्न सक्थ्यो । तर उनीहरु बाबुको पालादेखि नै नारायणगढमा धोबीको काम गरेर दुःख गरी हुर्किएका केटाहरु भएको बुझिएपछि तत्काल ठूलो कारबाही तथा होटलमा तालाबन्दी नगरी एकपटकलाई सुध्रने मौका दिइएको छ । तुरुन्त सफा ठाउँमा किचन र स्टोर व्यवस्थित कोठामा बनाएर सम्पूर्ण गल्ती–कमजोरीहरु १५ दिनभित्र सुधार्न समयसीमा दिइएको छ । होटलवालालाई जिल्ला प्रशासन कार्यालयमा तारिखमा उपस्थित हुन पनि निर्देशन दिइएको छ । खाद्य स्वच्छताबारे जानकारी लिन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा होटलवालालाई अस्ति डाकिएको थियो । 

हामीलाई प्राप्त जानकारी अनुसार केहीअघि उक्त होटलमा खानेकुरा खाँदा स्वास्थ्यमा समस्या भएपछि एकजना ग्राहक होटलमा गुनासो गर्न पुगेका थिए । ‘खाना ठिक भएन, राम्रो ख्वाउनुस्’ भन्दा होटलवाला उल्टै ग्राहकसँग झगडा गर्न तम्सिए । ती उपभोक्ताले पछाडि गएर किचन हेर्दा त्यस्तो हरिबिजोग देखेर अनुगमन अधिकारीलाई जानकारी गराएपछि हिजो सहायक प्रजिअ चिरञ्जीवी शर्माको नेतृत्वमा अनुगमन भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी लगायत घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धिरेन्द्रप्रसाद पोख्रेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक लालबहादुर घलान, भरतपुर महानगरपालिकाका कर्मचारी जीवलाल कुँवर र उपभोक्ता अधिकारकर्मी विष्णु भुसाल पनि टोलीमा सहभागी थिए । 

स्मरणरहोस्, भरतपुर एयरपोर्ट पछाडि करोडौं लगानीमा सञ्चालित चितवन गार्डेन रिसोर्ट (सिजीआर) जस्तो सुविधासम्पन्न होटलमा खाँदा समेत खाद्य विषाक्तता भएर हालै केहीअघि सयौं मानिस बिरामी परेका थिए । गत महिना सिजीआरमा बिहेभोज  खाँदा स्वास्थ्यअवस्था जटिल भएर थुप्रैलाई कैयौं दिन अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपरेको थियो । दिसामा हुने ब्यारेक्टिया खानेकुरामा मिसिँदा उनीहरु बिरामी भएको परीक्षणबाट देखिएको थियो ।


 

टिप्पणीहरू