कर्मचारीको कलमले समेटेका कुरा

कर्मचारीको कलमले समेटेका कुरा – जगदीशराज बराल

‘प्रेम मृत्यु हो,
घृणा मृत्यु हो,
बाँच्नु मृत्यु हो,
नबाँच्नु पनि मृत्यु हो,
यो मृत शहरमा
अन्त्यमा त्यहीँ पुगेँ 

जहाँबाट हिँड्न शुरु गरें’ 

(सर्वेश्वर दयाल सक्सेना, भारत) 

(१) ध्यानबहादुर राईसँगको त्यो भेट :

साल ठ्याक्कै सम्झना छैन । एमालेका पूर्व स्थानीय नेता, धरान नगरपालिकाको मेयर तथा पछि दल परिवर्तन गरी जनता समाजवादी पार्टीका नेता स्व. ध्यानबहादुर राईसँग विराटनगरको सुनसरी माईस्थान अगाडि अड्डा चौक सडकमा भेट भयो । उहाँले ‘एमालेको नाम फेरेर अब सोसल डेमोक्रेटिक पार्टी राख्दा के होला ?’ भनेर जिज्ञाशा राख्नु भयो । म त सरकारी कर्मचारी, यस्तो राजनीति बुझ्दिन भन्दा हाँस्नुभएको थियो । 

(२) जनताको बहुदलीय जनवाद :

कम्युनिष्ट पार्टीलाई नै ‘डेमोक्रेटाइज’ गरेर अगाडि बढाउनु पर्छ, अर्को मोर्चा बनाएर जान आवश्यक छैन । म त्यसको पक्षमा छैन । पश्चिम युरोपका ‘सोसल डेमोक्रेट्स’ ले सामन्तवाद उन्मूलनको कार्यक्रम लिएर अघि बढेका छन् । अहिलेको हाम्रो कार्यक्रम यस सवालमा त्योभन्दा गुणात्मक रूपले भिन्न छैन ।’ (मदन भण्डारी, वि.सं.२०४९ मा एमाले पाँचौं महाधिवेशनको मुखैमा बसेको केन्द्रीय कमिटी बैठकमा ।)

माले र माक्र्सवादी एकीकरणपछि व्यावहारिकतासमेतलाई ध्यानमा राखेर नाम परिवर्तन गर्ने, क्रान्तिकारी मोर्चा बनाउनेजस्ता बहस चलेका थिए । पछि संविधानको सर्वोच्चता कायम राख्नुपर्छ, कसैको स्वार्थअनुकूल संवैधानिक व्यवस्थालाई हतियार बनाउनुहुन्न, विधि तोड्नुहुन्न भन्दै सामाजिक रूपान्तरणको निम्ति बहुदलीय राजनीतिमा सहभागी हुनका लागि मदन भण्डारीले पेश गर्नुभएको बहुदलीय जनवाद पाँचौं महाधिवेशनबाट बहुमतले पारित भयो ।

नयाँ नेपालको समाजवादी यात्रामा संविधानमार्फत जाहेर प्रतिबद्धताले साँच्चै परिवर्तन ल्याउनुपथ्र्यो । तर, व्यवहारमा सबै नैतिकता ध्वस्त भयो । 

(३) जनमनको चिन्ता

सञ्चारकर्मी सागर पण्डितले निज सम्बद्ध राजधानी दैनिकमार्फत निम्नानुसारको खरो विचार प्रस्तुत गर्नुभएको छ :

‘...आफूलाई लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले जिल्ला र उच्च अदालतको फैसलाअनुसार जेल जीवन बिताइरहेका र सर्वोच्चबाट फैसला हुन बाँकी रहेका व्यक्तिलाई छुटाउन अध्यादेश ल्याउनु घोर अलोकतान्त्रिक चरित्र हो । यदि, कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तै चरित्र देखाउँदै जाने तर कसैले खुलेर विरोध गर्न नसक्ने हो भने कांग्रेस भन्ने दललाई समाप्तितर्फ जानबाट कसैले रोक्न सक्दैन ।’

‘विदेशीसँग सन्तुलित परराष्ट्र सम्बन्ध राख्ने हो तर सरकार बनाउनेबारे तिनीहरूसँग छलफल गर्नु भनेको आफ्नै राष्ट्रिय स्वाभिमानमाथि गद्दारी गर्नुबाहेक केही होइन । विदेशीको इशारामा सरकार बनाउने र आलोपालो चलाउने हर्कत कसैले नगरुन् । केन्द्रदेखि प्रदेशसम्म हुने आलोपालो सरकारका सबै हर्कत र अभ्यासलाई निषेध गरांै । पाँच वर्षमा केन्द्र र प्रदेश गरी तीन÷चार वटा सरकार बनाउने काम भएमा तिनलाई कुनै पनि कर नतिर्ने गरी बहिष्कार अभियानमा उत्रौं ।’ 

पार्टीले सत्ता पाएपछि राज्यसत्ता स्वतः कब्जा हुन्छ भन्ने सोचिन्छ । त्रुटि पहिले भइसक्यो, सच्याउन प्रयत्न गर्ने पनि त्यहीँबाट हो’ (राजनीतिक विश्लेषक, लेखक, बुद्धिजीवी पुरञ्जन आचार्यले बिरामीको उपचारार्थ २०७९ साल पुस ०२ गते मेदान्त अस्पताल, दिल्लीतर्फ प्रस्थानअघि आफ्नो सामाजिक सञ्जालको वालमा यस्तो लेख्नुभएको छ ।) 

पूर्वकर्मचारी समाजका पदाधिकारी, निजामती कर्मचारी युनियनका पूर्वकेन्द्रीय सदस्य, पूर्वअधिकृत गुल्मी निवासी अर्जुनप्रसाद आचार्यले २०७९ पुस २ गते लेख्नुभएको छ– ‘मलाई खान–लाउन पुगेकै छ, ज्यादै अप्ठ्यारो परेछ भने राज्यले हेर्ला नि ! एक गाँस खान र एकसरो गतिलो लगाउन नपाउने लाखौं जनतामाथि मैले शासन गरिरहेको छु, तिनीहरूको जीवनस्तर मेरा जहान परिवारसरह नभएसम्म मैले राज्यकोषबाट एक पित्को पनि लिन्न, त्यो पाप मबाट कुनै हालतमा हुन सक्दैन । यो देश र यहाँका जनताप्रति म कृतघ्न होइन, कृतज्ञ बन्न चाहन्छु ..,’यस्तो भन्नसक्ने, भन्ने मात्र होइन व्यवहारतः नै त्यतातिर उद्यत हुन खोज्ने शासक नभएसम्म देशमा समृद्धि र जनतामा सुखको कल्पना नगरे पनि हुन्छ । 

(४) वामपन्थीलाई अर्को मोर्चाको जरुरत छ र ?

चीनलाई त्यहाँका सञ्चारमाध्यमले ‘सोसलिष्ट डेमोक्रेसी’ वा ‘मोडर्न सोसलिज्म’ भनेर संबोधन गर्छन् । नेपालका एक दुई कम्युनिष्ट पार्टीबाहेक अरु सवै संसदवादी नवउदारवादी दल हुन् । सोसल डेमोक्रेटिक हैनन् । विश्वकै दुर्लभ दुई तिहाइ सरकारको साढे तीन वर्षे कालमा जे–जस्तो तामझाम देखियो त्यसबाट यी संसदवादी वाम दल सोसल डेमोक्रेटिक विचारधारा उन्मुख दल पनि हैनन् भन्ने छर्लंग भएको छ । 

हालै बीबीसीमा गेरी लिनेकरले ‘मेस्सीको खेलको प्रत्येक सेकेण्डको स्वाद लिनुपर्छ,’ भन्दै गर्दा केपी ओेलीलाई ‘राजनीतिको मेस्सीभन्दा महान् खेलाडी’ भनी अन्धभक्ति गर्नेहरूले के बुझेनन् भने मेस्सी त बल किलियान एम्बाप्पे, नेइमार, अल्भारेज, मार्टिनेज, डिब्याला, डिमारिया, सुवारेजलाई पनि पास गर्थे । ओलीजस्तै शक्तिशाली गतिका त रोनाल्डो र एम्बाप्पे पनि हुन् तर बल पास गरेर शाख अरुमा हस्तान्तरण गर्ने प्रवृत्ति उनीहरूमा कम थियो, अहिले अलि सुधार भएको छ । 

हामीले कम्युनिष्टको दुई तिहाइ सरकारबाट मेस्सीको खेलजस्तो स्वाद लिन सकेनौं । प्रचण्ड, झलनाथ, माधवलाई पनि सत्ताको भकुण्डो पास गरेर गोल गर्न खोजिएको देखेनौं । मेस्सीले दिएको आरामले गोल गर्न सक्ने पासलाई मार्टिनेजले गोलपोस्टमाथि हानेजस्तो गरी ओली सहज भइदिएको भए अरु अल्भारेज निस्किहाल्थे कि ! दुई तिहाई वाम सरकारको पतनबाट कांग्रेसले पनि सिक्ने छाँटकाँट देखिँदैन । 

मैले झिल्कोमा ‘लेककी ठिटी बेंसीमा झरी’ भन्ने लेखमार्फत सबभन्दा चिल्ला र सुकिला नेता–कार्यकर्ता, समर्थक एमालेसँग भएको र त्यसपछि कांग्रेस, समाजवादी, माओवादी, राप्रपा लाइनमा रहेको भनेर लेखेको थिएँ । 

एमालेले चिनियाँ सांस्कृतिक क्रान्तिको विरोध गरेर माओ विचारधारासमेत परित्याग गरिसकेको छ । बाँकी संसदवादी वाम दलहरू (नेमकिपाबाहेक) स्व.ध्यानबहादुरजीले आशा गरेजस्तो सोसल डेमोक्रेट्स हुन सक्दैनन् । न त तिनले स्व. मदनले चाहेजस्तो कम्युनिष्ट नामकै मोर्चाबाट नेपालको भूराजनीतिक अवस्थाअनुसार सोसल डेमोक्रेटिक कार्यक्रम सञ्चालन गर्न सक्छन् । 

कांग्रेसले वीपी विचारधारालाई नेपालको हावापानी तथा भूराजनीतिक अवस्थाअनुसार अवलम्बन गरेको भए वाम फुटाएर आफू बलियो छु भन्दै भ्यागुते ट्वार टवर गर्नुपर्ने थिएन । 

कम्युनिष्ट पार्टीलाई कस्तो बनाउने ? भन्नेसम्बन्धमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पाँचौँ महाधिवेशन २०४९ को मुखैमा बसेको केन्द्रीय कमिटी बैठकको महत्वपूर्ण अभिलेखको रूपमा रहेको माइन्युटको छविचित्र साझा गर्दै २०७९ मंसिर २८ गते सामाजिक सञ्जालको वालमा लेख्नुभएको थियो– ‘मदन भण्डारीले प्रष्टैसँग भन्नुभयो– मोर्चा बनाएर जाने कुरै छैन, कम्युनिष्ट पार्टीलाई नै लोकतन्त्रीकरण गरेर लाने हो । कम्युनिष्टलाई ‘कम्युनिष्ट’ नामै काफी छ, अरु नामको जामा भिराउन जरुरत छैन, मोही माग्ने ढुंग्र्रो लुकाउने, जीब्रो चपाउने किन ? नेतामा प्रष्टता हुनुपर्छ, तिकडम र लप्पन छप्पनले बर्बादीको बाटोतर्फ डो¥याउँछ ।’ 

मेरो मनले पनि कता–कता निम्न कविताको वाचन सुन्न मन परायो ;

‘सर्वहाराको नाम लिँदै कत्ति ढाँट्छन् वामहरू, लथालिंग छाडिकन जनताका कामहरू । कम्बल ओढी घ्यू खाने, बेइजिङ भन्दै दिल्ली जाने, यस्तै यस्तै धन्दा गर्छन् अनेक नामका रामहरू ! सुनिँदै छ रातोदिन सक्रिय छन् धामहरू, सडक फोहोर बनाएर निहुँ खोज्छन् जामहरू ! राति उठी कोल चाट्ने, पैसासँग इज्जत साँट्ने, यस्तै यस्तै धन्दा गर्छन् अनेक नामका रामहरू !’ 

(विराटनगरवासी स्वतन्त्र लेखनमा संलग्न लेखक नेपाल सरकारका पूर्वसहसचिव हुन्, सम्पर्क ९८२३४१७८९७)
 

टिप्पणीहरू