नेपाली ढाका टोपीः नेपालीको शान, मान र पहिचान

नेपाली ढाका टोपीः नेपालीको शान, मान र पहिचान -लेखनाथ सिकारु

'मेरो टोपी कैलाशको शिर जस्तो
हिमाली भीर जस्तो
कहिल्यै पनि झुक्न नजान्ने
कहिल्यै पनि रुक्न नमान्ने
मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो'

– गोपाल योञ्जन

नेपाली टोपीको सन्दर्भमा गोपाल योञ्जनको यो गीत नै काफी छ कि हाम्रो शान ,मान र पहिचानको सवालमा टोपीको महत्व कतिधेरै छ । नेपाली टोपीको साइनो विश्वको अग्लो हिमाल सगरमाथासँग जोड्ने गरिन्छ । टोपीको यहि महत्वलाई दर्साउन विगत १० वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिकका दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिएको छ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली पहिचान कम्जोर भएकोप्रति चिन्तित केही युवाहरूले २०७० सालदेखि ’टोपी दिवस’ मनाउन थालेका हुन् । नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली र नेपालीमूलका व्यक्ति एवं सम्पूर्ण नेपालीभाषीहरूको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउने उद्धेश्यले यो दिवसको सुरुआत गरिएको नेपाली टोपी प्रतिष्ठानका उपाध्यक्ष तथा टोपी अभियानका अभियन्ता डा. लेखनाथ काफ्ले बताउनुहुन्छ । 

संस्थापक अभियन्ता डा.  काफ्ले र शंकर बन्जाडेले सामाजिक सञ्जालबाट शुरु गर्नुभएको यस अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन “नेपाली टोपी प्रतिष्ठान” नामक संस्था पनि गठन भैसकेको छ । साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत श्री नवराज पोखरेलको विशेष पहलमा हालसम्म विश्वका ३९ देशमा समेत प्रतिष्ठानका शाखा गठन भैसकेका छन्  र थप गठन हुने प्रक्रियामा रहेको बताइन्छ ।
 
प्रतिष्ठानले आफ्नो अवस्थाअनुसार नेपाली टोपी प्रयोग गरी नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रुपमा स्थापित गराउन सहयोग गर्न विशेष अपिलसमेत गरेको छ ।

ढाका नेपाली हातले बुनिने एउटा विशेष प्रकारको कपडा हो र त्यसबाट बनेको टोपी नै ढाका टोपी हो, जुन नेपालीको शान पनि हो । टोपीलाई शिरपोस पनि भनिन्छ । यस्तै ढाकाटोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन हो । यो नेपालको राष्ट्रिय पोशाक पनि हो । 

ढाकाटोपी प्राय: पुरूषहरूले  प्रयोग गर्छन् । प्रायः दौरा सुरुवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली र पूर्वेली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ । हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान  हामी सबैले गर्न जरुरी छ ।

संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शीरमा लगाउने वरिपरि जालीदार घेरा भएको बस्त्रलाई बुझाउँछ । (वशन्त शर्मा नेपाल ,नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ ५६४) टोपी प्राकृत नाम शब्द शीर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाइ सिलाईएको पहिरनलाई टोपी भनिन्छ (नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४) । यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ । टोपलाई सम्मान र प्यारो बस्तुको रुपमा भन्दा टोपी नामाकरण भएको पनि हुन सक्छ ।

नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ, जसलाई ढाका टोपी भन्ने गरिएको मानिन्छ । केही विश्लेषकहरुले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपी लाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि उल्लेख गरेका छन् । त्यो खोज अनुसन्धानको विषय हो ।

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक सञ्जाल फेसबुकमा एउटा सार्वजनिक पेज निर्माण गरी पहिलोपटक जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । त्यसपछि सन् २०१४ देखि अंग्रेजी पात्रोअनुसार नयाँ वर्षको अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । उक्त सामाजिक संजालका संस्थापकद्वय डा. लेखनाथ र शंकर रहेका थिए । उनीहरुले नेपाली टोपी प्रतिष्ठान नामक गैरसरकारी तथा गैरनाफामुलक संस्था नै गठन गरेर अभियान नै चलाएका हुन् ।

अभियानले अन्तराष्ट्रियरूपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र सम्बर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा अभियन्ताहरुको छ । नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न हो ।
शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिस्तार गरी विश्वसामु चिनाउने उद्देश्यले अहिले संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ ।

'हामीले अरुका चाडपर्व र दिवसहरु मनायौं । तर, आफ्नै मौलिकता भने बिर्सन थाल्यौं । त्यसैले अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा मनाउने र हाम्रो पहिचान स्थापित गराउन खोजिएको हो', एक अभियन्ताको भनाई छ । त्यसोगर्दा अन्तराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

मानव सभ्यता र संस्कृति विकासशील कुरा हो, त्यसैले त्यसमा अरूको सिको, प्रभाव वा नक्कल हुन पनि सक्छ । संसारका ८० प्रकारका टोपी देखाउने एउटा वेबसाइटले नेपाली ढाका टोपी संलग्न गरेको थियो तर त्यससँग मिल्ने टोपी भने पाइन्न । ब्रिटिस साम्राज्यवादहरुले समेत नेपाली टोपीको गाथालाइ ईतिहासमा उल्लेख गरेको घटनाले यसको आफनौ मौलिक महत्व रहेको बुझ्न सकिन्छ ।

टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, उक्त दिनलाई नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवं सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको अभियन्ता डा. काफ्ले बताउनु हुन्छ ।

सन् २०२३ को हार्दिक शुभकामनासहित १०औं अन्तराष्ट्रिय नेपाली टोपी दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने विश्वास सहित यो दिवसले नेपाली र नेपाली मूलका नागरिक भएका सबै देशमा नेपालीपनको निरन्तर खोजी संरक्षण र प्रर्वद्धनमा सहयोग पुगोस्, हार्दिक शुभकामना ।

टिप्पणीहरू